पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

pokharaवासिङ्टन डिसी- विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ ।

फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।

विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आउनुभएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले बताउनुभयो ।

खरेलले भन्नुभयो, “अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ । यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार पनि हो ।”

उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने उल्लेख गरेको छ । सोसँगै २१ स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रुपमा फोर्ब्सले सूची निकालेको छ । यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ ।