वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

ambar gurungकाठमाडौं- वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको छ।

गुरुङको ७९ वर्षको उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

लामो समयदेखि मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका गुरुङलाई गतसाता अस्पताल भर्ना गरिएको थियो। एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) बाट उनी पीडित थिए ।

दार्जिलिङको लालढिकीमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट वि‍.सं १९९४ मा गुरुङको जन्म भएको थियो। गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो।

गुरुङले नेपाली राष्ट्रिय गान (सयौं फूलका थुङ्गा हामी एउटै माला नेपाली)मा समेत संगीत दिएका छन्।

तीन छोरा र एक छोरीका पीता गुरुङले आईए‍ सम्मको अध्ययन गरेका छन्।

गायन तथा संगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्तावाट दुई गीत ‘म अम्बर हुँ…’ र ‘सम्हालेर राख….’ बाट गीतिलेखन प्रारम्भ गरेका हुन्। संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीको ‘नौ लाख तारा उदाए’ बोलको गीत रेकर्ड गराएका थिए।