काठमाडौं- सत्ता पक्षीय दलहरु र प्रमुख प्रतिपक्षी दलले वार्ता र संवादबाटै आन्दोलनरत दलका माग सम्बोधन गर्ने सहमति गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आज बसेको बैठकले उदारताका साथ संविधानप्रति असन्तुष्ट दलका माग सम्बोधन गर्ने विषयमा छलफल गरेको हो ।
बैठकमा आन्दोलनरत दल अनुपस्थित भएकाले वार्ता परिणाममुखी हुन नसके पनि वार्ताबाटै समस्याको समाधान खोज्न आफ्नो पार्टीले सुझाव दिएको बैठकमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिनुभयो ।
वार्ताको वातावरण बनाउन अनौपचारिक भए पनि वार्ता सुरु गर्नुपर्ने सुझाव दिएको जानकारी दिँदै नेता आचार्यले भन्नुभयो, “आन्दोलनरत दललाई वार्तामा आमन्त्रण गर्न र सहमतिका लागि उत्प्रेरित गर्न हामीहरु पनि तयार छौं ।”
प्रधानमन्त्री र मन्त्रीहरुले आन्दोलनरत दलका मागका बारेमा सार्वजनिक रुपमा टीका टिप्पणी गर्नुको साटो औपचारिक रुपमा बसेर छलफल गर्नुपर्ने काँग्रेसको सुझाव छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले असन्तुष्ट दलका माग सम्वाद र छलफलबाटै समाधान गरिने र वार्तालाई निरन्तर दिइने बताउनुभयो । मोर्चामा आवद्ध दल बैठकमा अनुपस्थित भएको सम्बन्धमा उहाँले केही नबिग्रेको र छिट्टै छलफल गरेर अर्को बैठक बोलाइने बताउनुभयो ।
मोर्चामा आबद्ध चार दललाई मात्र वार्ताका लागि पत्र पठाइएकाले सङ्घीय गठबन्धनमा आवद्ध दलहरु बैठकमा सहभागी भएनन् प्रसंगमा मन्त्री खरेलले प्रधानमन्त्री कार्यालयमा मोर्चाको नाममा मागसहितको पत्र दर्ता गराएकाले सोही बमोजिम पत्र पठाइएको स्पष्ट पार्नुभयो ।






