बालुवाटारमा साना दलको  आक्रोश

काठमाण्डु, २६ पुस– संविधानसभामा रहेका साना दलका नेताले संविधान निर्माण प्रक्रियामा आफूहरुको भूमिका कमजोर पारेको भन्दै काँग्रेस–एमालेसँग आक्रोश पोखेका छन् ।

संविधान निर्माणमा साना दलको धारणा बुझ्न काँग्रेस–एमालेले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार डाकेको छलफलमा उनीहरुले ठूला दलले बल मिच्याईं गरेको आरोप लगाए ।

चार दलले मात्र संविधान बनाउनु खोज्नु ठीक होइन, ‘नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘ठूला भनिएका दलहरुले संविधानसभामा हाम्रो भूमिकालाई बेवास्ता गरेका छन् ।’

उनीहरुले एमाओवादी र मधेसी मोर्चाको दबाबमा परेर गलत सम्झौता नगर्न पनि ती दललाई दबाब दिए । आफूहरुले भरसक सहमतिमै र नभए प्रक्रियाबाटै भए पनि माघ ८ मा संविधान ल्याउनुपर्ने राय दिएको बिजुक्छेले बताए ।

छलफलमा नेमकिपासहित राप्रपा, नेकपा माले र परिवार दलका नेता सहभागी थिए ।