धादिङको कल्लेरी गाविस–३ स्थित बतासे, चिउरीथुम्का, देउराली, हाँडीखोलालगायतका स्थानमा आज उच्च विद्युत् प्रवाह हुँदा २४ जना घाइते भएका छन् । गाउँघरमा एकैपटक उच्च विद्युत् प्रवाह हुँदा पाँच टोलका २४ जना घाइते भएको कल्लेरीका स्थानीयवासी माधव खतिवडाले जानकारी दिनुभयो ।
घाइतेमध्ये विमलासिंह ठकुरी, मणिराज सिंह ठकुरी, जोमाया आलेलगायतका सातजनाको अवस्था गम्भीर रहेको उहाँँले जानकारी दिनुभयो । घाइतेहरू सबैको बैरेनीस्थित मेडिकल, स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ । उच्च विद्युत् प्रवाह हुँदा यहाँका ५० घरभन्दा बढीमा क्षति पुगेको बताइएको छ ।
उच्च विद्युत् प्रवाहले घरमा राखिएको मिटरबक्सनजिकै रहेका मानिसलाई झट्का लागेको थियो । एक्कासी झड्का लागेपछि उनीहरू बेहोस भएका थिए । उनीहरूलाई उद्धार गरी स्वास्थ्य केन्द्रहरूमा पु¥याइएको थियो । प्रायः सबै घरको मिटर र वाइरिङ गरिएका तार जल्नुको साथै टिभी तथा अन्य विद्युतीय उपकरणहरू पनि जलेको छ । यसबाट कति क्षति भयो भन्ने यकिन नभएको पनि खतिवडाले जानकारी दिनुभयो । सामुदायिक विद्युतीकरणबाट बालिएको बत्तीमा प्राधिकरणले चासो नदिएको स्थानीयको आरोप छ ।
उच्च विद्युत् प्रवाहबाट २४ घाइते






