विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको विवाद समाधान गर्न २०७२ माघमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले बुँदागतरूपमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा सो प्रस्ताव गर्नुभएको हो । गत साल विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले चयन गरेको नेतृत्वले सबैलाई समेट्न नसकेको भन्दै वरिष्ठ नेता डा बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गर्नुभएपछि साङ्गठनिक समस्या बेहोर्दै आएको एमाओवादीलाई सहजरूपमा अगाडि बढाउन उक्त प्रस्ताव गर्नुभएको बताइएको छ ।
यस्तै अध्यक्ष दाहालले हाल कायम रहेका पदाधिकारी र केन्द्रीय समितिसमेत विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गर्नुभएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । अध्यक्ष दाहाल र वरिष्ठ नेता डा भट्टराईबीच लामो समय चलेको विवादका कारण दुई दर्जनभन्दा बढी जिल्लामा समानान्तर समिति समेत गठन भएको थियो ।
पछिल्लोपटक दुई शीर्ष नेताहरूबीच भएको छलफलपछि पार्टीभित्रको विवादलाई हल गर्ने र विशेष महाधिवेशन आयोजना गर्ने सहमति भएको थियो । सोही सहमतिको आधारमा केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरिएको हो ।
‘‘आज अध्यक्षले समसामयिक राजनीतिक विषय समावेश गरिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । थप छलफलका लागि आगामी पुस १ गतेका लागि बैठक बोलाइएको छ’’ प्रवक्ता शर्माले जानकारी दिनुभयो ।