प्रेम र यौनका कारण जन्मिएका अपराध, एसिड काण्डदेखि युवतीको हत्यासम्म

2

नवराज मैनाली
धेरै अपराध पैसासँग गाँसिन्छन् । तर, सबै अपराध पैसाका लागि हुँदैनन् । प्रेमसम्बन्धमा आउने उतार–चढाव अपराधको अर्को ठूलो कारण बन्दै गएको छ । राजधानीमा पछिल्लो समय भएका ठूला अपराध पैसाभन्दा पनि प्रेम र यौनसँग जोडिएका छन् । झोंछेको एसिड काण्डदेखि ललितपुरमा भएको एउटा नाटकीय अपहरण तथा बुधबार धुम्बाराहीमा भएको युवतीको हत्या प्रेमसम्बन्धसँग जोडिएका छन् । यस्ता छन् प्रेम र यौनका कारण जन्मिएका उपत्यकाका पछिल्ला अपराध :-

प्रेमिकासँगै बस्न आफ्नै अपहरणको नाटक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कृष्णबल्लभ ठाकुरले आफ्नो छोरो अपहरणमा परेको भन्दै गत शनिबार दिउँसो १२ बजे प्रहरीलाई खबर गरे । अपहरणकारीले १५ लाख रुपैयाँ फिरौती माग्दै छोरालाई अपहरण गरेको बताइएको थियो र नदिए जे पनि हुनसक्ने धम्की दिइएको थियो । छोराकै मोबाइलबाट बिहान साढे १० बजे फोन आएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

ललितपुर प्रहरीको टोली अपहरणकारीको खोजीमा लाग्यो । अपहरणमा परेको भनिएका कृष्णबल्लभका १७ वर्षीय छोरा अञ्जन ठाकुरको मोबाइलको ‘लोकेसन’ आइतबार बिहान इमाडोलमा देखियो । प्रहरी उनलाई खोज्दै इमाडोल पुग्यो । बाटोमा हिँडिरहेका वेला अञ्जन भेटिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई जावलाखेलस्थित कार्यालय पुर्‍यायो । सुरुमा उनले आफूलाई केही थाहा नभएको बताए । थप सोधपुछका क्रममा आफैँले स्वर परिवर्तन गरी अपहरणकारी बनेर बुबालाई फोन गरेको बताए । कारण सुन्दा प्रहरी झन् आश्चर्यमा परे ।

कलेजमा पढ्ने एक युवतीसँग उनी गहिरो प्रेममा रहेछन् । दुवैजना बिहे गरेर सँगै बस्ने मनस्थितिमा थिए । तर, भर्खर प्लस टु पढ्ने वेला विवाह गर्न नहुने भन्दै परिवारले उनको प्रस्ताव अस्वीकार गरेको थियो ।

परिवारबाट छुट्टै बस्न उनीसँग पैसा थिएन । त्यसकारण आफू अपहरणमा परेको भन्दै नाटक गरेर बुबासँग १५ लाख रुपैयाँ फिरौती लिने र त्यही पैसाले घरबाहिर प्रेमिकासँग बस्ने योजना उनले बनाएका थिए । त्यसकै लागि आफू अपहरणमा परेको भन्दै नाटक गरेका थिए । उनको त्यही नाटकका कारण प्रहरीले २४ घन्टा दुस्ख पायो । प्रहरीले उनलाई सचेत गराएर अभिभावकको जिम्मा लगाएको छ ।

यौन असन्तुष्टिले ज्यान गयो
बुधबार बिहान राजधानीमा अर्को अचम्मको घटना भयो । बिहान करिब पाँच बजे धुम्बाराहीको प्रगति टोलको सडकमा एक युवतीको शव अर्धनग्न अवस्थामा फेला पर्‍यो । टाउको फुटेको अवस्थामा उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे ।

स्थानीयबाटै प्रहरीले थाहा पायो, त्यसरी मृत्यु हुने युवती छेउको घरमा डेरा गरी बस्ने ३५ वर्षीया ज्योत्सना तामाङ थिइन् । प्रहरी उनको डेरामा पुग्यो । उनका दुईवटा कोठा थिए । एउटा कोठामा एक युवती पवित्रा लिम्बू बच्चासहित सुतिरहेकी थिइन् भने अर्को कोठामा थिए प्रितम मानन्धर । उनीहरू निद्रामै थिए ।

प्रहरीले सडकमा ज्योत्सनाको शव भेटिएको बताएपछि उनीहरू आश्चर्यमा परे । बेलुका सँगै मदिरा पिएर सुतेको तर अरू केही कुरा थाहा नभएको उनीहरूले बताए । प्रहरीले सोधपुछका लागि दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज पुर्‍यायो ।

अनुसन्धानका क्रममा यौनसम्बन्धी विवादमा बाथरुममा झगडा हुँदा उनी झ्यालबाट खसेर मृत्यु भएको खुल्यो । प्रेमी प्रितम मानन्धरसँग झगडा हँुदा उनी खसेकी थिइन् ।

प्रहरीका अनुसार आफूलाई यौन सन्तुष्टि दिन नसकेको भन्दै उनले मानन्धरसँग झगडा गरेकी थिइन् । त्यही क्रममा उनी बाथरुमको झ्यालबाट खसेकी थिइन् । बरन्डामा खसेको हुनसक्ने भन्दै आफू कोठामा गएर सुतेको मानन्धरले बताएका छन् ।

प्रहरीका अनुसार दोस्रोपटक शारीरिक सम्पर्कका लागि बिहान करिब दुई बजे युवतीले नै मानन्धरलाई बाथरुममा बोलाएकी थिइन् । अर्को केटी भएकाले आफूलाई सन्तुष्टि दिन नसकेको भन्दै झगडा गरेकै वेला उनी बाथरुमको झ्यालबाट खसेको प्रहरीले जनाएको छ । उनीहरूबीच दुई महिनाअघि मात्र चिनजान भएको थियो । तामाङको भाटभटेनीमा फेन्सी पसल छ भने मानन्धरको टंगालमा रेस्टुरेन्ट छ । मानन्धरको रेस्टुरेन्टमा खाजा खान जाने क्रममा उनीहरू नजिकिएका थिए । त्यही क्रममा दुई महिनादेखि मानन्धर निरन्तर रूपमा उनको डेरामा जाने गर्थे । मंगलबार पनि १० बजे रेस्टुरेन्ट बन्द गरेर उनी तामाङको डेरामा पुगेका थिए । बेलुका करिब १२ बजेसम्म उनीहरू मदिरा पिएर बसेका थिए ।

मृतकका श्रीमान् विदेशमा छन् । तर, उनी पाँच वर्षदेखि नै श्रीमान्सँग छुट्टिएर बस्दै आएकी थिइन् । भारतमा रहेका उनको माइती पक्षले मानन्धरविरुद्ध प्रहरीमा उजुरी दिएको छ । मानन्धरलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ ।

प्रेम अस्वीकारको बदला एसिड
झोंछेको एसिड आक्रमण काण्डले अन्तर्राष्ट्रिय चर्चा पायो । रामेछापकी संगीता थापा मगरलाई रामेछापकै जीवन विकले गत १० फागुनमा एसिडले आक्रमण गरे ।

जीवनले प्रहरीमा दिएको बयानअनुसार यो अपराधको सुरुवात प्रेमबाटै भएको थियो । कुनै समय जीवन र संगीता प्रेमसम्बन्धमा थिए । तर, दुई परिवारबीच झगडा भएपछि उनीहरूको सम्बन्ध चिसियो । संगीताको परिवारले आफूलाई जातकै कारण हेला गरेको र सोही कारण संगीताले पनि प्रेममा धोका दिएको भन्दै जीवनले त्यसको बदला लिन एसिड आक्रमण गरेको अनुसन्धानमा खुलेको छ । जीवन यतिवेला महानगरीय प्रहरीपरिसर हनुमानढोकाको हिरासतमा छन् भने संगीताको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

तीन वर्षअघिदेखि दुवैको परिवार झोंछेको एउटै घरमा बस्दै आएका थिए । त्यही क्रममा जीवन र संगीताको चिनजान भएको थियो । जीवन पढाइमा टाठा थिए । एलएलसीमा पनि ७० प्रतिशत नम्बर ल्याएर पास गरेका थिए । त्यसकारण संगीता उनीसँग पढ्ने गर्थिन् । त्यही क्रममा दुईजना नजिकिएका थिए । सुरुमा आफूले नाम जीवन खड्का बताएको तर पछि आफू विक भएको थाहा पाएपछि संगीताले हेला गरेको उनले बताउँदै आएका छन् । प्रेममा धोका दिएको र आफ्नो परिवारलाई हेपेको प्रतिशोधमा आक्रमण गरेको उनले बताएका छन् । एक वर्षसम्म परिवारलाई समेत आफू भारतीय सेनामा जागिरे रहेको भन्दै ढाँटेर टोखामा उनी डेरा गरी बस्दै आएका थिए । उनले एक वर्षदेखि योजना बनाएर आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । आफूले आक्रमण गरे पनि संगीतालाई अझै माया गर्ने उनले बताएका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा ललितपुरमा पनि गत माघमा एसिड आक्रमण भएको थियो । तर, यो घटना भने गत साता मात्र बाहिर आयो । बालकुमारीस्थित माइलस्टोन कलेजमा बिबिएस तहमा अध्ययनरत अञ्जना तण्डुकारमाथि ८ माघमा पाटनको कृष्ण मन्दिरमा आक्रमण भएको थियो । उक्त कलेजमा एउटै कक्षामा पढ्ने अनुप राना मगरले अन्जनाको अनुहारमा एसिड छर्किएका थिए । मगरलाई बुधबार पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाइएको एसएसपी पुष्पचन्द्र रञ्जितले बताए । कलेजबाट घर फर्कंदै गर्दा मगरले तण्डुकारमाथि अरू साथीका अगाडि एसिड छर्किएका थिए । गाडीको ब्याट्रीमा प्रयोग हुने एसिड भएकाले युवतीलाई ठूलो चोट लागेन । बी एन्ड बी अस्पतालमा उपचारपछि उनी त्यसै दिन डिस्चार्ज भएकी थिइन् । निधारमा फालिएको एसिड गालासम्म पुगेर उनको अनुहारमा खत लागेको छ । घटनाको भोलिपल्ट युवतीले उजुरी दिए पनि दुई महिनापछि मात्र अभियुक्त पक्राउ परेका हुन् ।

साथीकी श्रीमतीसँग लाग्दा ज्यान गयो
१५ फागुनमा एक सैनिकले आफ्नै साथीको शिवपुरीको जंगलमा हत्या गरे । अमल्दार रोहितकुमार ओझा आफ्नै साथी रुद्रकुमार थापाद्वारा मारिए । श्रीमती आस्था मगरसँग लागेको भन्दै उनले साथीको हत्या गरेका थिए ।

घटनाको दुई सातापछि थापालाई प्रहरीले पक्राउ गरेको थियो । आफ्नी श्रीमतीसँग सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको बयान उनले दिएका छन् । रोहित र रुद्रको करिब ६ वर्ष लामो मित्रता थियो । तर, श्रीमतीसँग रोहितको प्रेमसम्बन्ध भएको थाहा भएपछि उनीहरूबीच दुस्मनी भयो, जसको परिणाम एकको मृत्यु भयो भने अर्का जेलमा पुगेका छन् । ०६६ सालमा नेपाली सेनाको रौतहटस्थित जोरहवा ब्यारेकमा उनीहरूबीच चिनजान भएको थियो । रोहित त्यसवेला उक्त ब्यारेकमा परीक्षा दिने क्रममा पुगेका थिए । रुद्र पहिलेदेखि नै त्यहीँ कार्यरत थिए । त्यहीँ रुद्रले आफ्नी श्रीमती आस्थाको चिनजान रोहितसँग गराइदिएका थिए ।

पछि रोहित र आस्थाले एक–अर्कालाई मन पराउन थाले, जुन कुरा लामो समय गोप्य रह्यो । उनीहरूबीच गोप्य रूपमा फोनमा बारम्बार कुरा हुन थाल्यो र भेटघाट पनि बाक्लियो । रुद्रले त्यसबारे थाहा नपाऊन् भनेर रोहितले एनसेलको छुट्टै मोबाइल किनेर आस्थालाई दिएका थिए ।

पछि रुद्र शान्ति मिसनमा विदेश गए । श्रीमतीलाई नेपालटारमा डेरा खोजेर राखिदिए । उनी विदेश गएपछि रोहित र आस्थाको प्रेम झन् झाँगियो । रोहित धेरै समय आस्थाकै डेरामा बिताउन थालेका थिए ।

शान्ति मिसनबाट फर्किएपछि दुईजनाको सम्बन्धलाई लिएर रुद्रले शंका गर्न थाले । श्रीमतीसँग पटक–पटक झगडा पनि गरे । दुवैजनालाई सँगै राखेर कुरा गरे । दुवैजनाले आफूहरू दाजुबहिनीजस्तो भएकाले धेरै भेट्ने र फोनमा कुरा गर्ने गरेको बताए । तर, रुद्रको चित्त बुझेन । भद्रकाली मन्दिरमा बोलाएर एक–अर्कालाई दाजुबहिनीका रूपमा कसम खुवाएर खुट्टा ढोग्नसमेत लगाए । तर, त्यसपछि पनि रोहित आफ्नो डेरामा श्रीमतीलाई भेट्न आउने गरेको छोरीबाट थाहा पाएपछि उनले शिवपुरीमा छलफल गर्न भनेर बोलाएका थिए । पेटीले टाउकामा हानेर उनले हत्या गरी शव माटोले पुरेर बुटवल भागेका थिए । बुटवलबाटै महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रेममा आत्महत्या बढ्दो
चार साताअघि लाजिम्पाटमा सुस्मिता शर्माले आफ्नै डेरामा झुन्डिएर आत्महत्या गरीन् । बंगलादेशी प्रेमीसँग फोनमा झगडा भएपछि उनले आत्महत्या गरेकी थिइन् । डान्सरको रूपमा बंगलादेश पुगेकी उनको त्यहीँका एक युवकसँग प्रेमसम्बन्ध भएको थियो । बंगलादेशमा पनि ती युवककी श्रीमती भएको खुलेपछि उनीहरूबीच झगडा भएको थियो । पछिल्लो समय मलेसियामा काम गर्दै आएकी उनी घटनाको पर्सिपल्ट मलेसिया जान टिकट काटिसकेकी थिइन् । तर, बंगलादेशी प्रेमिसँग फोनमा झगडा भएपछि उनले आत्महत्या गरेकी थिइन् । राजधानीमा हरेक दिन आत्महत्याका घटना हुने गरेका छन् । गत साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा दुई सय ६५ जनाले राजधानीमा आत्महत्या गरेका छन् । आत्महत्याको एउटा कारण प्रेमसम्बन्धमा हुने विवाद पनि रहेको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी दीपक रेग्मी बताउँछन् ।

अपराधका शृंखला
८ माघ – प्रेम प्रस्ताव अस्वीकार गरेको आरोप लगाउँदै ललितपुरको बालकुमारीस्थित माइलस्टोन कलेजमा बिबिएस अध्ययनरत अञ्जना तण्डुकारमाथि अनुप रानामगरले एसिड प्रहार गरे

१० फागुन – प्रेममा धोका दिएको भन्दै रामेछापका जीवन विकले रामेछामकै संगीता थापामगरलाई एसिड प्रहार गरे

१५ फागुन – आफ्नी श्रीमतीसँग लागेको भन्दै सैनिक रुद्रकुमार थापाले आफ्नै साथी अमल्दार रोहितकुमार ओझाको हत्या गरे

१४ चैत – १७ वर्षीय युवकले प्रेमिकासँग बस्न आफ्नै अपहरणको नाटक रची आफ्नै बाबुसँग १५ लाख फिरौती मागे

१८ चैत – यौनसम्बन्धी विवादमा प्रेमी प्रीतम मानन्धरसँग बाथरुममा झगडा हुँदा झ्यालबाट खसेर ३५ वर्षीया ज्योत्सना तामाङको मृत्यु

बंगलादेशी प्रेमीसँग फोनमा झगडा भएपछि चार साताअघि लाजिम्पाटमा सुस्मिता शर्माले आफ्नै डेरामा झुन्डिएर आत्महत्या गरिन् । नयांपत्रिका