पाकिस्तानले ज्यानमार्ने धम्की दिएको फेसबुक संस्थापक जुकरवर्गको खुलासा

काठमाडौं, २६  पुस । फ्रान्सको पत्रिका शार्ली हेब्डोमाथि भएको आतंककारी हमलापछि फेसबुकका सिइओ मार्क जुकरवर्गले आफ्नो बारेमा एउटा ठूलै खुलासा गरेका छन् । जुकरवर्गका अनुसार उनलाई पाकिस्तानी चरमपन्थीहरुले ज्यान लिने धम्की दिएका थिए । प्राफेट मोहम्मदको सामग्रीमा रोक लगाउने उनीहरुको आदेश वेवास्ता गरेका कारण उनलाई केहि वर्ष अगाडि पाकिस्तानका चरमपन्थीहरुले उनको ज्यान लिने धम्की दिएको शुक्रकार उनको फेसबुकमा लेखिएको स्टेटसले बताएको छ । यद्यपी जुकरवर्गले धम्की दिने आतंककारीको बारेमा केहि पनि बताएका छैनन् । जुकरवर्ग भन्छन्, ‘फेसबुक एउटा यस्ता ठाउँ हो जहाँ संसारभरका मानिसहरु बिना कुनै हिंसाको डरले आफ्नो बिचार सार्वजनिक गर्ने गर्दछन् । हामी हरेक देशको कानुन पालना गर्ने गर्दछौँ तर हामीले कुनै पनि देश अथवा समूहलाई आफूले चाहेको जस्तो कन्टेन्ट सेयर गर्ने अधिकार दिएका छैनौँ ।’ यसका साथै जुकरवर्गले बिना कुनै डर आफ्नो भावना र बिचार साझा गर्न पाउने सेवामा आफू प्रतिबद्ध भएको बताए । उनले फ्रान्स पत्रिका शार्ली हेब्डोमा भएको आतंककारी हमलामा मारिएका मानिसहरु र उनको परिवारप्रति आफ्नो समवेदना भएको समेत उल्लेख गरेका छन् ।