डा गोविन्द केसी निर्णायक लडाइँ लड्ने, असोज २० देखि अनसनको घोषणा

काठमाडौं- मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रका सुधारका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका डा गोविन्द केसीले फेरि सत्याग्रहसहित संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेका छन्।

डा केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै असोज २० गतेदेखि सत्याग्रहसहित संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेका छन्।

राजनीतिक दलहरुबीच माफियामुखी चिकित्सा शिक्षा ऐन पारित गर्ने साँठगाँठ चलिरहेको भन्दै डा केसीले आफू निस्क्रिय रहेमा दीर्घकालीन क्षति हुने भएकाले फेरि सत्याग्रह थाल्ने उल्लेख गरेका छन् ।

तीन वटै ठूला दलहरु आ–आफ्नो स्वार्थअनुसार मेडिकल कलेज खोलेर लुट मच्चाउन मिल्ने गरी ऐन पारित गर्न सक्रिय रहेको आरोप डा केसीले लगाएका छन् । यस विरुद्ध अन्तिम लडाइँ लड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ- ‘अर्कोतिर, वर्तमान संसदको आयु अब सकिनै लागेकाले छिटै ऐन निर्माणको दिशामा प्रगति नभएमा हाम्रो अहिलेसम्मको मिहिनेत खेर जाने हुनाले अब त्यसका लागि निर्णायक लडाइँ नलडी नहुने भएको छ।’

पारदर्शिता र सुशासनका लागि समेत अभियानमा रहेका डा केसीले संसद्, अख्तियार र न्यायालयले भ्रष्टाचार नियन्त्रणमा एक-अर्काको पूरकका रुपमा काम गर्नुपर्नेमा भ्रष्टहरुलाई उन्मुक्ति दिन आपसी प्रतिस्पर्धा गरिरहेको भन्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन्।

डा केसीले यही अवस्था रहेमा कुनै पनि बेला ती निकायका गलत काम र प्रवृत्ति विरुद्ध कडा कदम चाल्न बाध्य हुने समेत उनले चेतावनी दिएका छन्।