क–कसका थिए ती ‘४ मोटरसाइकल’, जसको प्रयोग गरेर सांसद पालमाथि ‘हमला’ भयो ?

काठमाडौं– नेकपाकी सांसद निरु पालले साउन १५ गते साँझ ८ बजे आफूमाथि भएको ‘हमला’सम्बन्धी जानकारी बिहिबार संसद बैठकमा गराइन् ।

सांसद पालले संसदको गराएको जानकारीअनुसार उनलाई आफ्नो डेरा नजिकै ४÷५ जनाको समूहमा रहेका युवाहरुको समूहले हमलाको प्रयास गर्दै धम्की दिएका थिए ।

बुधबार प्रधानन्यायाधीशको सुनुवाईका विषयलाई लिएर उनीमाथि कञ्चटमा पेस्तोल राखेर वैठकमा नजान धम्की दिइएको उनले संसदमै बताएकी छिन् । उनले आफ्नो डेराभन्दा मुनी ४ जना युवाहरु मोटरसाइकलमा आएर आफूलाई कुरिरहेको देखेको बताएकी छिन् ।

तर यस्तो गम्भीर प्रकृतिको घटनामा सांसद पालले मोटरसाइकलको नम्बर टिपे नटिपेको खुलाइएको छैन । न त प्रहरीलाई यसबारे कुनै जानकारी नै गराइएको छ ।

नेपाल निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या प्रकरणमा प्रहरीले अनुसन्धान गर्दा त्यो समयमा उक्त क्षेत्रमा चलेका मोटरसाइकलबाट अनुसन्धानको थालनी गरेको थियो । र, प्रहरीलाई त्यही ‘हुलिया’ र सिसिटिभीमा कैद भएको मोटरसाइकलको नम्बरबाट अपराधी पत्ता लगाउन सहजता भएको थियो ।

तर निरु पालले न प्रहरीलाई यसबारे जानकारी दिएकी छिन्, न त मोटरसाइकलको नम्बर वा चालकको हुलिया बारे नै बताएकी छिन् । बानेश्वरक्षेत्रको करिब सबै नाकाहरुमा अहिले सिसिटिभीको निगरानी रहन्छ ।

यदि पालमाथि साँच्चैको हमला भएको हो भने प्रहरीले सिसिटिभी फुटेजका आधारमा अपराधी पत्ता लगाउन सक्छ । तर पालले किन यी सबै विषयमा प्रहरीलाई जानकारी दिइरहेकी छैनन् ? प्रश्न पालअघि तेर्सिएको छ ।