काठमाडौं– सांसदहरुले महिला अस्तित्वको संरक्षण गर्दै महिला सुरक्षाको प्रत्याभुति गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सांसदहरुको सुरक्षाको प्रत्याभुतिका साथै महिला सुरक्षामा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समयमा मुलुकका विभिन्न जिल्लामा बालिका बलात्कार र हत्याका घटना सार्वजनिक भईरहेका बेला राजधानीमा सांसद निरु पालमाथि नै ज्यान मार्ने धम्की आएपछि सांसदहरुले महिला सुरक्षातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस सांसद डिला संग्रौला पन्तले सांसदलाई राजधानीमा नै ज्यान मार्ने धम्की आउनु दुःखद भएको भन्दै सांसद निरुपालमाथि भएको घटनाको भत्र्सना गरिन् । सांसद निरु पाल माथिको घटनाले आम सांसदहरु पनि असुरक्षाको घेरामा रहेको भन्दै घटनाबारे गृहमन्त्रीको जवाफ माग गरिन् । सांसदलाई नै सुरक्षा दिन नसक्ने सरकारले आम नेपालीको सुरक्षा दिन सक्दैन भन्ने प्रश्न उब्जाएको भन्दै उनले महिला सुरक्षाप्रति संवेदनशील हुन सरकार र गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराइन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले डोटीको बोगाटन वडा नम्बर ४ मा श्याम बमको असार २७ गते हत्या भएको र किटानी जाहेरी पछि ७ जनालाई नियन्त्रणमा लिएको भएपनि अनुसन्धान प्रभावकारी नभएकाले दोषिको किटानी हुन नसकेको भन्दै सरकारको ध्यनाकर्षण गराइन् ।
उनले महिला हिंसाका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षित बाँच्न पाउने अधिकार प्रत्याभुतिका लागि दोषिलाई कडा कारवाहीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । महिला हिंसाका घटनामा कमि नआएमा महिलाको बाँच्ने अधिकारनै गुम्ने अवस्था श्रृजना हुने भन्दै उनले सरकारको ध्यानाकर्षण गराईन् ।
नेकपाकी सांसद शशि श्रेष्ठले प्रतिनिधिसभाका सदस्य देखि लिएर मुलुकभरका आम महिलाले दिउँसो पनि आफुलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै महिला अस्तित्वको संरक्षण र सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्– ‘पुर्खाहरुले भन्ने गर्थे न्याय नपाए गोर्खा जानु अहिले आम महिलाले भन्ने गरेका छन् सुरक्षा नपाए कहाँ जानु ?’ बालिकादेखि बृद्धासम्मको बलात्कारका घटनाले मुलुकभरका बालिकादेखि वृद्धासम्मलाई असुरक्षित महसुस गराएको भन्दै उनले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड सम्मको सजायको व्यवस्था गर्नुपर्ने माग गरिन् ।
उनले मुलुकभरका बलात्कारजन्य घटनाको गम्भीर अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले बहुमतको सरकारलाई असफल बनाउनका लागि पनि कतै षडयन्त्र त भईरहेको छैन भनि प्रश्न गरिन् ।






