काठमाडौँ, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
यही साउन १९ गते बुधबार प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको १० दिन बित्न लाग्दासमेत मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री दाहालले आइतबार विस्तारको तयारी गर्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग एको भेटवार्तामा पनि सरकार विस्तारको विषयमा नै कुराकानी भएको र मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि पनि तत्काल सरकार क्रियाशील हुनुपर्ने भएकाले कुनै विलम्व नगरी मन्त्रीमण्डलमा सदस्य थप गर्न लागिएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहालसँग सरकार विस्तारको विषयमा चासो राख्नुभएको बुझिएको छ । राष्ट्रपतिको चासोपछि प्रधानमन्त्रीले आइतबार आफूले केही मन्त्री थप गर्ने तयारी गरेको जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सत्ता साझेदार दल नेपाली काँग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार गर्ने तयारी गरिएकाले केही ढिलाइ भएको जानकारी दिनुभयो ।
आइतबार नेकपा (माओवादी केन्द्र)का तर्फबाट पाँच मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ । स्वकीय सचिव मल्लले भन्नुभयो – “तयारी गरिएको छ । आइतबार साँझसम्म अरु दलबाट नभए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी गराउन बाँकी रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिन्छ ।”
प्रधानमन्त्री दाहालले यही साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएलगत्तै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि मन्त्रालयको जिम्मा दिनुभएको थियो ।
सोही सहमतिअनुसार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि, उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा कृष्णबहादुर महराले कार्यभार सम्हालिसक्नुभएको छ । यस्तै माओवादी केन्द्रका तर्फबाट कृषि विकास मन्त्रीमा गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्रीमा दलजीत श्रीपाइलीले पनि कार्यभार सम्हालिसक्नुभएको छ ।
माओवादी केन्द्रले मन्त्री छनोटको सम्पूर्ण अधिकार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दाहाललाई नै दिएको छ ।
यस्तै प्रधानमन्त्री दाहालले आपूर्तिमन्त्रीमा राप्रपाका दीपक बोहोरा, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा सोही दलका विक्रम पाण्डे र नेकपा (संयुक्त)का जयदेव जोशीलाई जनसङ्ख्या तथा वातावरण मन्त्रीका रुपमा कार्यविभाजन गरिसक्नुभएको छ ।






