२२ योद्धालाई सहिद घोषणा

oli-cabinet-1st-meeting-650x388

काठमाडौं- सरकारले पञ्चायती शासनविरुद्ध संघर्षरत रहँदा विभिन्न समयमा तत्कालीन सत्ताबाट मारिएकाको योगदानलाई कदर गर्दै सुखानी काण्डका सहित २२ लोकतान्त्रिक योद्धालाई सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सहिद घोषणा गरेको जानकारी पर्यटन मन्त्री आनन्द पोखरेलले दिए । उनका अनुसार सहिद घोषणा भएकामा भीमदत्त पन्त (डडेलधुरा), दुर्गानन्द झा (धनुषा), शमशेरबहादुर खत्री (गुल्मी), रामनाथ दाहाल (झापा), नेत्र घिमिरे (झापा), वीरेन राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), ऋषि देवकोटा ‘आजाद’ (सिन्धुली), क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुंगा), भीमनारायण श्रेष्ठ (धनकुटा), राम उपाध्याय (सिरहा), लक्ष्मण उपाध्याय (सिरहा), लीलानाथ दाहाल (ओखलढुंगा), खगेन्द्रराज दाहाल (ओखलढुंगा), गोकर्णबहादुर कार्की (ओखलढुंगा), रत्नकुमार वान्तवा (इलाम), सूर्यनाथ यादव (सिरहा), हरि नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (संखुवासभा) र चन्द्र डाँगी (झापा) छन् ।

पञ्चायती शासनकालमा सोलुको टिम्बुरबोटे र धनकुटाको छिन्ताङलगायत स्थानमा तत्कालीन सत्ताबाट मारिएका लोकतान्त्रिक योद्धाहरूलाई सहिद घोषणा गर्ने सम्बन्धमा सुझाव दिन उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उपप्रधान तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत र सिँचाइमन्त्री उमेश यादव सदस्य छन् ।