पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले माघ ८ गते नै मुलुकले नयाँ संविधान पाउने दाबी गर्नुभएको छ । सर्लाहीको कर्मैयास्थित वाग्मती नदीमा निर्माण हुने झोलुङ्गे पुलको आज शिलान्यास गर्दै नेता नेपालले माघ ८ मा संविधान जारी गर्न एमाले सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद अगाडि बढाइरहेको बताउनुभयो ।
“माघ ८ गते मुलुकलाई संविधान दिन हामी प्रतिबद्ध छौँ” नेपालले भन्नुभयो, “त्यसका लागि काँग्रेस, एमाओवादी, मधेसवादीसहित सबै दलहरुसँग गम्भीर ढङ्गले छलफल गरिरहेका छौँ ।” दलहरुबीचको विवाद चाँडै समाधान हुने र नयाँ संविधान निर्माणले गति लिने नेता नेपालको दाबी थियो । त्यस्तै अर्को प्रसङ्गमा नेता नेपालले एमालेमा गुट उपगुटभन्दा पनि एकताको खाँचो रहेको उल्लेख गर्दै एमाले एकताबद्ध भएमात्र मुलुकको राजनीति पनि सही दिशाबाट अगाडि बढ्न सक्दछ भन्नुभयो ।
संविधान जारी भएपछि मुलुकको आर्थिक विकासले गति लिने उल्लेख गर्दै नेता नेपालले पारीपट्टीको नुनथर महादेव मन्दिर र वारीपट्टीको बुद्ध शान्ति तपोवन स्थलका लागि पवित्र वाग्मती नदीमा बन्ने झोलुङ्गे पुल कोसेढुङ्गा सावित हुने प्रस्ट्याउनुभयो ।
‘माघ ८ मै संविधान ल्याउँछौँ’






