काठमाडौँ- छवटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अहिले भागबण्डाको विषयलाई लिएर विवादमा फसेको छ ।
२०७४ वैशाख ७ गते तमलोपा (महन्थ ठाकुर), सद्भावना पार्टी (राजेन्द्र महतो), रामसपा (शरतसिंह भण्डारी), तमसपा (महेन्द्र राय यादव), फोरम गणतान्त्रिक (राजकिशोर यादव) र सङ्घीय सद्भावना (अनिल झा) पार्टी मिलेर राजपा नेपाल बनेको हो ।
छवटा पार्टीका छजना अध्यक्ष मिलाएर एउटा अध्यक्षमण्डल गठन भएको छ । राजपा नेपालका लागि अध्यक्ष मण्डल नै निर्णायक बनेको छ ।
पार्टी गठन भएदेखि हरेक कुरामा अध्यक्षमण्डलका सदस्यहरूको बीचमा भागवण्डा हुँदै आएको छ । राजपा नेपालले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावमा टिकट बाँड्नेदेखि लिएर प्रदेश र प्रतिनिधिसभामा समानुपातिक सदस्य तथा मन्त्री बाँडफाँडसमेत भागबण्डा गरेको छ ।
तर पछिल्लो समय प्रदेश २ मा सरकार गठन गर्दा राजपा नेपालका संयोजक महन्थ ठाकुर (तत्कालीन तमलोपाका अध्यक्ष) ले एकलौटी निर्णय गरेको आरोप लागि रहेको छ । सुरुमा राजपा नेपालका महामन्त्री जितेन्द्र सोनललाई प्रदेश सांसदको संसदीय दलको नेता चयन गर्दा ठाकुरले एकलौटी गरेको आरोप लागेको थियो ।
संसदीय दलको नेता मात्र होइन, पार्टीमा कुनै सल्लाह नै नगरी संयोजक ठाकुरले सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरे । त्यसमा पनि पार्टीमा कुनै निर्णय नै नगरी मन्त्री बनाएको आरोप पार्टीभित्र लागेको थियो ।
सुरुमा ठाकुरले अन्यलाई भागवण्डा नै नगरी आफ्नो पक्षका नेतालाई मात्र नियुक्ति गर्न थालेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । यही कारण बाँकी मन्त्री नियुक्त गर्न धेरै नै समय लागेको थियो । १३ दिनपछि अर्थात २०७४ फागुन १६ गते राजपा नेपालले दुईजना मन्त्रीको नाम टुङ्गो लगायो । यसमा रामनरेश राय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण र नवलकिशोर साह सुन्डी सामाजिक विकास मन्त्रीमा नियुक्त भए ।
रामनरेश राय यादव महेन्द्र राय यादव पक्षका हुन् भने नवलकिशोर साह राजेन्द्र महतो पक्षका हुन् । प्रदेश सरकारको मन्त्रिपरिषद्मा महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले आआफ्नो भाग पाए पनि राजकिशोर यादव, शरतसिंह भण्डारी र अनिल झाले भाग नपाएपछि असन्तुष्ट देखिएका थिए ।
त्यसपछि उनीहरूले बाँकी रहेका तीन राज्यमन्त्रीमा आआफ्नो भाग पाउनुपर्छ भनी पार्टीमा दाबी गरिरहे । तर कुरा मिलिरहेको थिएन । पार्टीभित्र सहमतिमा कुरा नमिलेपछि राजेन्द्र महतोले बहुमतका आधारमा निर्णय हुनुपर्ने भन्दै पार्टीमा कुरा राख्न थाले ।
पार्टीभित्र सबैतिर राजेन्द्र महतोको बहुमत छ । कार्यसमितिदेखि लिएर प्रदेश र प्रतिनिधिसभामा समेत राजेन्द्र महतोको बहुमत छ । यही कारण त्यसको दम्भ देखाउँदै उनले पार्टीमा विवाद सिर्जना गरे । यो पार्टीमा आफू शक्तिशाली रहेको, आफ्ना सदस्य सङ्ख्या बढी रहेको भनी दम्भ देखाउन थालेपछि पार्टी दुई गुटमा विभाजित भए ।
सुरुमा राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा एकातर्फ थिए भने महेन्द्र राय यादव, शरतसिंह भण्डारी र महन्थ ठाकुर अर्कोतर्फ थिए । अर्थात् त्यतिबेला पनि पार्टी दुईटा गुटमा चलेको थियो ।
जब प्रदेशसभाको समानुपातिक सदस्य चयनमा चलेखल सुरु भयो अनि अनिल झा र राजकिशोर यादव राजेन्द्र महतोलाई छाडेर महन्थ ठाकुरको पक्षमा लागे ।
यता शरतसिंह भण्डारीले महन्थ ठाकुरलाई छाडेर राजेन्द्र महतोको पक्षमा गए ।
शरतसिंह भण्डारी र राजेन्द्र महतो एकातिर महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा र महन्थ ठाकुर अर्कोतिर भए ।
त्यसपछि त झन् भागबण्डाको खेल सुरु भयो । शरतसिंह भण्डारी र राजेन्द्र महतो दुईजना मिलेपछि महन्थ ठाकुरका पक्षभन्दा बढी मत थियो । त्यही भएर राजेन्द्र महतोले संसदीय दलको नेतादेखि लिएर मन्त्री चयनमा आफ्नो पक्षको दाबी गर्न थाले । दुई गुटको भागबण्डा विवादका कारण राज्यमन्त्री नियुक्ति गर्न ढिलाइ भएको थियो । फागुन ३ गते गठन भएको प्रदेश २ को सरकारले साउन ९ गते आएर मात्र पूर्णता पायो ।
साउन ९ गते अभिराम शर्मा, सुरेश मण्डल र डा. डिम्पल झा गरी तीनजना राज्यमन्त्री नियुक्त भए । त्यसमा अभिराम शर्मा महन्थ र सुरेश मण्डल (सिफारिश राजकिशोरको पक्षबाट), महन्थ ठाकुर पक्षका हुन् भने डा. डिम्बर झा अनिल झा पक्षका हुन् ।
यी तीनजना राज्यमन्त्री शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको दाबी सुरुदेखि थियो । महन्थ ठाकुरले प्रदेशमा संसदीय दलको नेतासहित एउटा मन्त्री पाएका थिए भने राजेन्द्र महतोले प्रदेश संसदको सभामुख र एउटा मन्त्री पाएका थिए । महेन्द्र राय यादवले मन्त्री पाएका थिए ।
त्यसपछि राज्यमन्त्रीमा स्वभाविक रूपमा उनीहरूको दाबी रहने भयो । राज्यमन्त्रीका लागि उनीहरूले आआफ्नो तर्फबाट मन्त्रीको नाम संयोजक महन्थ ठाकुरलाई दिएका थिए । त्यसमा शरतसिंह भण्डारीले जैनुल राइनको नाम दिएका थिए ।
तर स्रोत भन्छ, जैनुल राइनलाई भारतीय दूतावासको दबाबमा मन्त्री बनाएनन् र त्यस ठाउँमा संयोजक ठाकुरले आफ्ना पक्षका अभिराम शर्मालाई राज्यमन्त्रीमा राखे । अनिल झाले डिम्पल झाको नाम राखे भने राजकिशोर यादवले सुरेश मण्डलको नाम राखे । डिम्पल झा अनिल झाकी श्रीमती हुन् भने सुरेश मण्डल महन्थ ठाकुरका पक्षमा भए पनि राजकिशोर यादवले आफ्नो तर्फबाट सिफारिश गरे ।
राजकिशोर यादव र सुरेश मण्डल एउटै क्षेत्रबाट चुनाव जितेका हुन् । राजकिशोर प्रतिनिधिसभा र सुरेश मण्डल प्रदेशसभाका सांसद हुन् ।
राजकिशोर यादवले प्रदेशसभाको समानुपातिकको भागबण्डामा एउटा सिट पाएका थिए । त्यसमा उनले सप्तरीका नेत्रविक्रम साहलाई समानुपातिक सदस्य बनाएका थिए । तर पछि उनी राजकिशोर यादवको साथ छाडेका थिए । त्यही भएर उनी नेत्रविक्रमलाई राज्यमन्त्री नबनाएर सुरेश मण्डललाई सिफारिश गरेका थिए ।
संसदीय दलमा अझै विभिन्न पदमा नियुक्ति गर्न बाँकी छ । संसदीय दलका उपनेता, प्रमुख सचेतक, सचेतक, सचिव, कोषाध्यक्ष र राष्ट्रिय सभाका नेता तथा सचेतक पनि नियुक्ति गर्न बाँकी छ ।
त्यस्तै, प्रदेश २ मा योजना आयोगमा पनि दुईजना सदस्य नियुक्ति गर्न बाँकी छ तर पार्टीभित्र भागबण्डाको कुरा नमिल्दा ढिलाइ भइरहेको छ ।






