काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाले आगामी चैत ७ गतेदेखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको पार्टीको नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठकले सो निर्णय गरेको सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राष्ट्रियता, सनातन धर्म र विकासलाई केन्द्रीत गर्न स्थानीय तहको निर्वाचन सन्दर्भमा पार्टीको सन्देश जनता समक्ष पु¥याउन, ऐतिहासिक एकता महाधिबेशनको सन्देश जनता तथा पार्टी कार्यकर्तासम्म पु-याउन तथा पार्टीको संगठन निर्माणको प्रक्रियालाई अघि बढाउने उदेश्यले राष्ट्रिय एकता यात्रा कार्यक्रम संचालन गर्न लागिएको बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष थापासहित पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व राष्ट्रिय अध्यक्षहरु पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा चार मुख्य ठाउँहरु गोरखा, कंचनपुर, झापा र काठमाण्डौबाट एकैदिन एकैसाथ एकता यात्रा प्रारम्भ हुने विज्ञप्तिमा उल्लेख छ ।
एकता यात्रालाई प्रभावकारी ढंगबाट संचालन गर्ने पार्टीका उपाध्यक्ष तथा आपूर्ति मन्त्री दिपक बोहराको संयोजकत्वमा एकता यात्रा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
बैठकले राष्ट्रिय एकता यात्राको समापन चैत्र १२ गते चितवनमा भब्य आमसभाका साथ गरिने पनि बैठकको निर्णय रहेको श्रेष्ठले बताए । शनिबारदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियताको लागि भन्दै मेची महाकाली राष्ट्रिय अभियान चलाइरहेको बेला सोही शैलीमा राप्रपाले पनि ‘राष्ट्रिय एकता यात्रा’ गर्न लागेको हो ।
यसैबीच राप्रपाले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा समेत गरिसकेको अवस्थामा गत केन्द्रीय कार्य समितिको बैठकले तय गरेको स्थानीय तह अनुरुप पार्टी इकाईको समायोजन निर्देशिका कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।






