योगेन्द्रमिलन छन्त्याल,
२७ माघ (१० फेब्रुअरी), पोर्तुगल । पोर्तुगलमा एक नेपाली युवकको दुखद निधन भएको छ । भीमपोखरा ६, बागलुङका डोलेन्द्र (डिल्लीराज) पौडेलको उपचारको क्रममा आइतबार निधन भएको हो ।![Dolendra[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/Dolendra1-280x300.jpg)
जनवरी ६ तारिखका दिन अस्पताल भर्ना गरिएका उनलाई मुटुको अपरेशन गर्नुपर्ने बताइएको थियो । अस्पतालमै रहेका बेला जनवरी २३ का दिन बान्ता गरेका थिए। त्यसपछि पौडेलको आकस्मिक रुपमा टाउकोमा अपरेशन गरिएको थियो ।
अस्पताल भर्ना हुनुअघि उनलाई ज्वरो आएको रहेछ । अस्पताल जानेभन्दा औषधि सेवन गरिरहेको र ठुलो समस्या नरहेको बताएका थिए । १८ दिनसम्म लगातार सामान्य ज्वरोले सताइरहेको कुरा भनेका थिए ।
‘अस्पतालमा पनि हाम्रै जिद्धिले लागेका थियौ । सिरियसली छिटो उपचार होला भनेर एम्बुलेन्स बोलायौ । भर्ना हुँदा हिडेरै जानसक्ने सामान्य अवस्थामै थिए ।’ स्रोतले भन्यो, ‘कापुसोस र सान्ता मार्ता अस्पतालमा पनि ट्रान्सफर गरेर सकेसम्म उपचार प्रयास भएकै हो ।’
पौडेल बिगत ९ वर्षदेखि पोर्तुगलमा थिए । ३४ वर्षीय पौडेलको फेसबुक टाइमलाइनमा २०१४ को जुन २४ र २५ तारिखका दिन नव दुलहादुलहीको फोटो राखेको पाइन्छ । अत्यन्तै मिलनसार र सहयोगी स्वभावका पौडेलकी श्रीमती पोर्तुगलमै छिन् । नमस्ते नेपाली डट कम ।






