एमालेसँग नजिकिँदै राजपा

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको छ ।

असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले सरकारबाट समर्थन फिर्ता लिनेसम्बन्धी प्रस्ताव राख्नुहुने स्रोतले उल्लेख गरेको छ । देउवालाई प्रधानमन्त्री चयन गर्दा पक्षमा मतदान गरेको राजपाले साउन १९ मा कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी मोर्चाका सात घटकसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोख्दै आएको छ ।

देउवाले पुनः प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन त परै, दोस्रो स्थानीय तहको निर्वाचनका नाममा तराई–मधेसमा सेना परिचालन गरेको, शान्तिपूर्ण विरोधमा उत्रेका कार्यकर्तालाई गिरफ्तार गरेको र गोली प्रहार गर्नेसम्मका कार्य गरेको आरोप राजपाले सरकारलाई लगाएको छ ।