लण्डन । यूरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज लन्डन आइपुग्नु हुँदैछ । बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राजकुमार ह्यारीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । लण्डनस्थित नेपाली दूतावासले मंगलबार केन्सिंटन प्यालेसमा प्रधानमन्त्री र ह्यारीबीच औपचारिक भेट हुने जानकारी गराएको छ । तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली लण्डन हाइपुग्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले मंगलबार नै बेलायती प्रधानमन्त्री टेरेसा मेलाई पनि १० डाउनिंग स्ट्रिटमा भेट्ने कार्यक्रम छ । सोही दिन बेलायती राजपरिवारको प्रतिनिधिका रुपमा राजकुमार ह्यारी र प्रधानमन्त्रीबीचको भेट तय भएको दूतावासले जनाएको छ । उक्त भेटमा नेपाल तथा बेलायतको द्विपक्षीय हितसम्बन्धी विविध विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री र राजकुमार ह्यारीबीच हुने भेटलाई बेलायत र यहाँको राजपरिवारले आफ्नो नेपालसँगको सम्बन्धलाई दिएको विशेष महत्वका रुपमा समेत हेरिएको छ । जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली सोमबार साँझ लण्डन उत्रिने कार्यक्रम छ । लण्डन उत्रिएलगत्तै उनी अक्सफोर्ड विश्वविद्यालय पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।






