काठमाडौँ- पछिल्लो समय नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीबीच आफूलाई असली वैकल्पिक शक्ति देखाउन होडबाजी चलेको छ । यसका लागि दुई पार्टीले एकले अर्काको खुलेर आलोचना गरिरहेका छन् ।
यसैको पछिल्लो कडीको रुपमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रप्रति सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका छन् ।
पूर्व प्रधानमन्त्री तुलसी गिरीप्रति समर्पित मिश्रको एक ट्वीटमा डा. भट्टराईले प्रतिप्रश्न समेत गरेका छन्, ‘काल्पनिक दृष्टिकोणले अग्रगामी वैकल्पिक शक्ति बन्ला ?’
मिश्रले स्वर्गीय डा. गिरी प्रति समवेदना प्रकट गर्दै ट्वीटरमा लेखेका थिए,
डा तुलसी गिरीले पञ्चायति निरंकुशताको जग हाल्नुभन्दा बीपीसँग मिलेर अघि बढेमात्र देशको आमूल रूपान्तरण सम्भव छ भनेर राजा महेन्द्रसँग अड्डी लिएको भए आज नेपाल नितान्त भिन्न हुन सक्थ्यो र गिरीको उचाई सगरमाथाजस्तै हुने थियो । उनको आत्मालाई शान्ति मिलोस्।
यसको जवाफमा डा. भट्टराई लेख्छन्,
बाख र बाख्रा संगै मिलेर बसिदिएको हुन्थ्यो ! बाघ र बाख्राको मिलन गराउन सक्ने मान्छे झन् महान हुन्थ्यो ! यस्तो तर्क उचित होला ? बाघ र बाख्राको मिलन भनेको बाख्रालाई बाघको भोजन बन्न राजी/वाध्य पार्नु होइन र ? इतिहासप्रतिको यस्तो काल्पनिक दृष्टिकोणले अग्रगामी वैकल्पिक शक्ति बन्ला र ?






