शिब भण्डारी
लन्डन । बेलायत यतिखेर क्रिसमसमय भएको छ । इसाइ धर्मावलम्बीहरुको महान पर्व क्रिसमसका अवसरमा बेलायतका मुख्य शहर विभिन्न रंगका बत्तिले झकिझकाउ छन् भने व्यापारिक प्रतिष्ठान र घर घरमा क्रिसमस ट्री सजाइएको छ ।
क्रिसमस क्रिश्चियन धर्मावलम्बीहरु तथा पश्चिमीदेशका वासिन्दाहरुको प्रमुख चाड हो । यो चाड हरेक बर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन मनाईन्छ क्रिश्चियन धर्मावलम्बीहरु भगवान् जिसस क्राइस्टको जन्मको रुपमा क्रिसमस चाड धुमधामका साथ मनाउने गर्दछ्न । पश्चिमी देशहरुमा २४ तारिखका दिन अधिकांश अफिसहरु आधा दिनमा नै विदा हुन्छ । २५ तारिखका दिन अत्यावश्यक सेवाबाहेकका सबै पसल तथा कार्यालयहरु विदा हुन्छन् ।

स्कूल तथा विश्वविद्यालयहरु केहिदिन अघिदेखि नै एक वा दुईहप्ताको लागि जाडोको विदादिई बन्द हुन्छन र नयाँ बर्ष लागेपछि खुल्छन । धेरैजसो कर्मचारिहरु यसैसमयमा आफ्नो संचित विदा लिई आफ्नो पुर्खौली परिबार,माता पिता भएको ठाउंमा वा अन्यत्र घुम्न जान्छन् । कतिपय देश, प्रान्त तथा राज्यहरुमा कार्यालयहरु २६ तारिखका दिन पनि विदा हुन्छ ।
बेलायत लगायत कमनवेल्थ राष्ट्रमा २६ तारिखलाई बक्सिङ डे भनेर भनिन्छ र सो दिन अधिकांश पसलहरुमा अत्याधिक मात्रामा सामानहरुको भाउमा छुट दिई सामानहरु बेच्ने हुँदा मानिसहरुको पसलहरुमा विहानै देखि घुइचो लाग्दछ ।
यसैगरी साना कम्पनीहरु देखि ठूला कम्पनिहरुले बर्षमा एकपटक डिसेम्बर लाग्नासाथ आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रात्रिभोज वा दिवाभोजमा निम्त्याई हर्षोल्लासका साथ खानपिन, नाचगान, एक आपसमा भलाकुसारी गरी मनाउंदछन् । त्यस्तै कतिपय साना कम्पनीहरुले रात्रिभोज वा दिवाभोज नगरे तापनि आफ्ना कर्मचारीहरुलाई क्रिसमस वोनस दिने पनि प्रचलन छ । 
क्रिसमसमा अरु के के हुन्छ यो पनि पढ्नुस– एक महिना अगाडि देखि नै कतिपय घरमा रंगी चंगी बिजुलीबाली तथा अन्य सजावटका सामानहरु प्रयोगगरी सजाइन्छ । घरभित्र क्रिसमस ट्रि सजाएर राखिन्छ । क्रिसमस ट्रि का लागि साल वा धुपिको सानो रुख वा प्लास्टिकबाट बनेको हरियो रुख प्रयोग गरिन्छ । यो रुखलाई बिभिन्न रंगी चङ्गी चिजहरुबाट सजावट गरिन्छ । आफ्ना नातेदार, इष्टमित्र, बन्धुबान्धवहरु एक आफसमा उपहार दिने गर्दछन् र आफुले पाएको उपहार क्रिसमस ट्रिको बरपर राख्दछन् ।
क्रिसमस चाडमा पनि कतिपय परिवारहरु डिसेम्बर २४ तारिखका दिन नै भेलाभई विभिन्न परिकारहरु बनाई पारिवारिक रात्रीभोज गर्दछन् । तर कतिपय परिवारहरु भने डिसेम्बर २५ तारिखका दिन पारिवारिक रात्रिभोज गर्दछन् । कतिपय ठाउँमा डिसेम्बर २५ तारिखका दिन नै आफुले पाएको उपहारको प्याकेट खोल्दछन् भने कतिपय ठाउँमा भने भोलिपल्ट २६ तारिखका दिन विहान मात्रै खोल्दछन् ।
यसैबीच बेलायतका नेपाली समुदायमा पनि मान्यजन भेटघाटका साथै उपहार आदानप्रदान,हाउस पार्टी, एबम विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर क्रिसमस मनाउने तयारी भइरहेको छ ।
क्रिसमस चाड नेपाल लगायत अन्य देशहरुमा पनि मनाउनेहरुको संख्या बढदो छ ।






