काठमाडौं- मोरङको रंगेलीमा बिहीबार युवा संघको कार्यक्रम बिथोल्दा भएको गोली प्रहारमा तीन जनाको मृत्यु भएको विषयमा सत्तारुढ एमाले र आन्दोलनरत मधेसी मोर्चाका सांसदबीच आरोप प्रत्यारोप चलेको छ ।
मोर्चाका नेता लक्ष्मणलाल कर्णले जब जब निर्णायक वार्ता हुनलाग्छ, तब तब सरकारले आन्दोलनकारीमाथि गोली चलाउने गरेको आरोप लगाए ।
‘जब जब निर्णायक वार्ता हुनलाग्छ, सरकारले किन ताकी ताकी गोली चलाउँछ । सप्तरीमा त्यस्तै भयो, वीरगञ्जमा त्यस्तै भयो हिजो रंगेलीमा पनि त्यस्तै भयो । सरकारको उद्देश्य के हो ?,’ उनले भने ।
शुन्य समयमा एमाले सांसद् यज्ञराज सुनुवारले युवा संघले गर्न लागेको शान्तिपूर्ण कार्यक्रमलाई मधेसी मोर्चाले बिथोल्नु जाजय नभएको बताए । ‘कसैलाई शान्तिपूर्ण कार्यक्रम गर्न दिन्न भन्न पाइँदैन,’ उनले भने ।
‘कार्यक्रम गरे गौर र टीकापुर घटना दोहोरिन्छ भन्दै कसले प्रचार गरिएको छ । हिजो रंगेलीमा भाला, खुकुरी र तरबार चलेको छ । शान्तिपूर्ण कार्यक्रममा यस्तो गर्न मिल्छ ?,’ उनले सरकारले सत्यतथ्य छानविन गर्नुपर्ने पनि माग गरे ।






