बेलायतको प्रधानमन्त्रीका लागि फाइनल भिडन्त सुनक र ट्रसबीच हुने

लण्डन । बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनक र लिज ट्रस भिड्ने भएका छन् ।

पाँचौ चरणको बुधबार भएको मतदानपछि अन्तिम दुई जनामा पूर्व अर्थमन्त्री सुनक र परराष्ट्रमन्त्री ट्रस पुगेका हुन् ।

पाँचौं चरणमा सुनकले १३७ मत पाएर शिर्ष स्थानमा रहे भने ट्रसले ११३ मतसहित दोस्रो स्थानमा रहेकी छन् । पाँचौ चरणमा यस अघि दोस्रो स्थानमा रहेकी चर्चित उम्मेदवार व्यापारमन्त्री पेनी मोर्डेन्टले भने १०५ मतसहित तेस्रो स्थानमा रहदै प्रधानमन्त्रीको दौडबाट बाहिरिएकी छन् ।

कुल ८ उम्मेदवारले कन्जरभेटिभ पार्टीको नेताको दौडमा भाग लिएपनि पाँच चरणका निर्वाचन प्रक्रियाबाट सुनक र ट्रस अन्तिम निर्वाचनका लागि छानिएका छन् ।

अब अन्तिम चरणको निर्वाचनमा प्रधानमन्त्रीको दौडमा रहका सुनक र ट्रसलाई कन्जरभेटिभ पार्टीका एक लाख ६० हजार सदस्यहरूले हुलाक भोटबाट पार्टीको नेता चयन गर्नेछन् । यो चुनाव जुलाई २२ मा हुने छ ।

बेलायतमा, विजयी उम्मेद्वारले पार्टीको नेता र प्रधानमन्त्रीको पद धारण गर्दछ । नेता चयनको घोषणा सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ ।