काठमाडौं। झण्डै २० करोड रुपैयाँ लागतमा बन्ने गैर आवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय कार्यालय भवनको सोमबार शिलान्यास भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले एनआरएन भवनको शिलान्यास गरे । भवन काठमाडौंको बालुवाटारमा बन्नेछ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले सरकारले लगानीको उपयुक्त वातावरण बनाइरहेको भन्दै नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरे । एनआरएनको नेपालमा आफ्नै कार्यालय भवन निर्माण हुनु विश्वभर छरिएर रहेका नेपालीका लागि गौरव र एकताको प्रतीक भएको भन्दै कोइरालाले ढुक्क भएर लगानी र सीपका माध्यमबाट आफ्नो जन्मभूमिलाई समृद्ध बनाउन आग्रह गरे ।
कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ बन्ने संविधानमा एनआरएनएलाई नागरिकता प्रदान गर्ने प्रावधान सुनिश्चित् हुने बताए । उनले छिट्टै नयाँ संविधान बनाउन एनआरएनएले पनि दल र तीनका नेतालाई खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजङग पाण्डेले मुलुकमा लगानीको लागि उचित वातावरण बनेको बताउँदै ढुक्क भएर लगानी गर्न एनआरएनलाई आग्रह गरे ।

एनआरएनएका पूर्व अध्यक्ष डा उपेन्द्र महत्तोले ‘नेपाल हाम्रो हो र हामीले नै बनाउनु पर्छ’ भन्दै विकास निर्माणका कार्यले मात्र सङ्क्रमणकाल छोट्याउन सकिने जिकिर गरे ।
यस्तै एनआएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले विश्वमा छरिएर रहेका नेपाली नै एनआरएनएको ठूलो शक्ति भएको बताउँदै भवन निर्माणले आर्थिक स्थायीत्वका लागि महत्वपूर्ण योगदान दिने उल्लेख गरे ।
एनरआरएनले पाँच रोपनी क्षेत्रफलमा अत्याधुनिक भवन बनाउन लागेको हो । एनआरएनले भवन बनाउन विश्वभर रहेका आफ्ना सदस्यबाट रकम संकलन गरिरहेको छ । एनआरएन भवन बनाउनका लागि झण्डै १३ करोड रुपैयाँमा जग्गा किनेको थियो ।
एनआरएनले विश्वका ७० देशबाट भवन निर्माणका लागि सहयोग संकलन भइरहेको छ । अहिलेसम्म विभिन्न देशबाट १७ करोड रुपैयाँ भन्दा धेरै संकलन भइसकेको एनआरएनका अध्यक्ष शेष घलेले बताए । घले आफैं विश्वका विभिन्न देशमा पुगेर रकम संकलन गरिरहेका छन् ।
एनआरएन भवन बनाउन हङकङबाट ७० लाख, जापानबाट ७२ लाख तथा युरोपका विभिन्न शहरबाट एक करोड रुपैयाँ भन्दा धेरै संकलन भएको घलेले बताए । एनआरएनको अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष घलेले आफ्नै भवन बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएका थिए ।






