आयरल्यान्ड ८ विकेटले पराजित

काठमाडौं, २६ फाल्गुन । एक दिवसीय विश्वकप क्रिकेटमा भारतले आयरल्यान्डमाथि शानदार जित हासिल गरेको छ । जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेको भारतले लगातार पाँचौ जित हात पार्नेक्रममा मंगलबार आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको हो । न्यूजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा आयरल्यान्डले दिएको २ सय ६० रनको चुनौती भारतले ३७ औं ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनिङ ब्याट्सम्यान रोहित शर्माले ६४ रन र सिखर धवनले शतक बनाए ।
यस्तै, विराट कोहलीले अविजित ४४ तथा अजिन्क्या रहानेले ३३ रनको योगदान गरे । बलिङतर्फ आयरल्यान्डका स्टुवार्ट थम्पसनले २ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४९ ओभरमा अलआउट हुँदै २ सय ५९ रन जोडेको थियो । आयरल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान विलियम पोर्टरफिल्डले ६७ रन जोडे भने नायल ओब्रायनले सर्वाधिक ७५ रनको योगदान दिए । बलिङतर्फ भारतका मोहम्मद शामीले तीन तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।
समूह ‘बी’बाट भारत यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । यो जितपछि ५ खेलबाट १० अंक पुर्‍याएको भारत समूह विजेता बन्ने निश्चित भएको छ । ५ खेलबाट ६–६ अंक जोडेका दक्षिण अफ्रिका, पाकिस्तान र आयरल्यान्ड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।
समान खेलबाट ४ अंक जोडेको वेस्ट इन्डिज पाँचौ स्थानमा रहे पनि क्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै छ । अन्तिम खेलमा आयरल्यान्ड र पाकिस्तान तथा वेस्ट इन्डिज र युएई भिड्नेछन् । समूह ‘ए’ बाट क्वार्टरफाइनल पुग्ने टोलीहरुको भने टुंगो लागिसकेको छ । न्यूजिल्यान्ड समुह विजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्दा अष्ट्रेलिया, श्रीलंका र बंगलादेश पनि क्वार्टरफाइनलमा पुगिसकेका छन् । यो समूहबाट इंग्ल्यान्ड, अफगानिस्तान र स्कटल्यान्ड भने पहिलो चरणबाटै बाहिरिएका छन् ।