बाढीका कारण सिन्धुपाल्चोकमा चिन्ता

flood-in-koshiमेलम्ची, २४ असार । सिन्धुपाल्चोक जिल्ला र जिल्लासँगैको चिनियाँ क्षेत्रमा परेको अविरल वर्षापछि गत मङ्गलबारबाट आएको बाढीका कारण तातोपानीको लिपिङ, गातीलगायतका क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।

बाढीका कारण भने हालसम्म कुनै मानवीय क्षति नभएको र पहिलेको तुलनामा अहिले पानीको सतह घटेको प्रहरीले जानकारी दिएको छ । जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने खतरा बढेको छ ।

नेपाल र चीनकोे मितेरी पुल नजिकको लिपिङबजारमा रहेका घर उच्च जोखिममा परेका छन् भने तातोपानीदेखि बाह्रविसेसम्मका २५ घरटहरा बगाइसकेको छ । तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त छ भने तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुईवटा टिपर बगाएको सीमा प्रहरी चौकीले बताएको छ ।

बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटरको सडक ठाउँ–ठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।