‘दुई-चारजना मधेसी जमिन्दार उफ्रँदैमा उनीहरुले भनेको मानिहाल्नुपर्छ भन्ने छैन’

madhav nepalउदयपुर- नेकपा एमालेका नेता माधवकुमार नेपालले कुनैपनि हालतमा देशको शिर झुक्न नदिने बताएका छन् ।

नेकपा एमालेसगरमाथा अञ्चल समन्वय समितिद्वारा गाईघाटमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता नेपालले अहिले नेपाललाई छिमेकी देशले शिर झुकाउन प्रयास गरिरहेको बताउँदै नेपालीको स्वाभिमान र शिर कदापी नझुक्ने दाबी गरे ।

उनले संविधान निर्माण र कार्यान्वयन गर्ने आफूहरुको अधिकार भएकाले छिमेकीले दबाब दिएर यो गर या त्यो गर भन्दैमा नेकपा एमाले र वर्तमान सरकार तथा नेपाली जनता अर्काको आदेश मान्ने पक्षमा नभएको उल्लेख गरे ।

मधेस आन्दोलन अधिकारको लागि भएकाले अहिले वार्ताबाटै आफूहरुले यो समस्या समाधान गर्न लागिरहेको र सबै मधेसवादी दलले वार्तामा सकारात्मक धारणा देखाएको कारण अब दुई/चार दिनभित्रै मधेसको समस्या समाधान हुने नेता नेपालले बताए ।

दुई/चारजना मधेसी जमिन्दार उफ्रँदैमा आफूहरुले सबै उनीहरुले भनेको मानिहाल्नुपर्छ भन्ने पक्षमा एमाले नभएको बताउँदै नेता नेपालले मधेसी जनतालाई कुन अधिकार दिनुपर्दछ भन्ने नेपाली जनता र सरकारले नै निर्णय गर्नेसमेत बताए ।