वीरगन्ज, २८ कात्तिक । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान वीरगन्ज उपमहानगरपालिका रामगढवास्थित नेकपा(एमाले) पर्साको कार्यालयमा आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले एमाले पार्टीले मधेस आन्दोलनको विरोधमा केन्द्रको निर्देशनानुसार अञ्चलस्तरीय चियापान कार्यक्रम आयोजना गर्न लागिएको जनाई त्यसको प्रतिकारस्वरुप आगजनी गरेको बताइएको छ ।
शुक्रबार मोर्चाका नेता राजेन्द्र महतोद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा एमाले पर्साले शनिबार गर्ने चियापान कार्यक्रमलाई बिथोल्ने चेतावानी दिएको थियो । तिहार र छठ पर्वको अवसर पारेर एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ पर्साले शनिबार बिहान पार्टी कार्यालयमा अञ्चलस्तरीय चियापान कार्यक्रम राखेको थियो । आगजनीपछि चियापान स्थगन भएको छ । आगजनी गरेपछि मोर्चाका कार्यकर्ताले पार्टी कार्यालय अगाडि टायर बालेर केही बेर प्रदर्शनसमेत गरेका थिए । सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतो तराईमा बस्दै आएका छन् ।
एमाले पर्साले भने तिहार र छठ पर्वको उपलक्ष्यमा पार्टीले कुनै चियापान कार्यक्रम नराखेको जनाएको छ । पार्टीका जिल्ला सचिव गङ्गा खड्काले पार्टी कार्यालयमा आज चियापान कार्यक्रम गर्ने पार्टीको कुनै निर्णय नभएको जनाउँदै पार्टी कार्यालयमा आगजनी गर्नु ज्यादै दुःखद् घटना भएकोे बताउनुभयो । रासस
महतोको निर्देशनमा एमाले पार्टी कार्यालयमा आगजनी






