पेरिस । फ्रान्सको राजधानी पेरिसमा सिलसिलाबद्ध
आतंकवादी हमलामा १५८ जनाको मृत्यु भएको छ । राजधानी पेरिसमा भएको अन्धाधुन्ध गोलाबारी र विस्फोटमा परी अहिलेसम्म १५८ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।
शुक्रबार राति भएको यो आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ । पेरिसका विभिन्न ठाउँमा एक-साथ गरिएको हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएसले लिएको छ । सो आक्रमण पेरिसको स्थानीय समयानुसार रातको ९ बजे भएको थियो । प्राप्त समाचार अनुसार पेरिसको बैटाकलां कन्सर्टमा मात्रै एक सय मानिस मारिएका छन् । बन्दुकधारीले कैयौ मानिसलाई बन्धक समेत बनाएका थिए । उनीहरुलाई प्रहरीले कारवाही गरी मुक्त गराएको थियो ।
Pariसबैभन्दा खतरनाक हमला बैटाकलां आर्ट्स सेन्टर नजिकै भएको थियो । दोस्रो हमला बैटाकला सेन्टरबाट केही टाढा रहेको एक रेस्त्रा पेटाइट कम्बोज नजिकै भएको थियो । फ्रान्सको सरकारी टेलिभिजन फ्रेन्चका अनुसार बन्दुकधारीले अटोमेटिक राइफलले पेटाइट कम्बोज रेस्त्रामा फायरिङ गरेका थिए ।
तेस्रो हमला पेरिसको नेशनल स्टेडियम बाहिर भएको थियो । यहाँ लगातार तीन वटा विस्फोट भएका थिए । स्थानीय प्रहरीका अनुसार हमला गर्ने पाँच आतंककारी समेत मारिएका छन् ।
फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्दले राष्ट्रका नाममा गरेको सम्बोधनमा देशमा आपतकाल घोषणा गरेका छन् । घटनापछि फ्रान्सका सबै सीमा नाका बन्द गरिएका छन् । पेरिसका नागरिकलाई घरबाट बाहिर नआउन भनिएको छ । स्थानीय प्रहरीको मद्दतका लागि सेनालाई समेत तयारी अवस्थामा राखिएको छ ।
त्यो समय स्टेडियममा फ्रान्स र जर्मनीबीच फुटबल खेल चलिरहेको थियो । त्यहाँ भएको आत्मघाती आक्रमणमा तीन जना मारिएका छन् । उक्त समय फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द पनि खेल हेरिरहेका थिए । तर, उनलाई सुरक्षितसाथ बाहिर निकालिएको थियो ।






