पेरिस आक्रमणको विश्वभर निन्दा, कस्ले के भने ?

२८ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको सिलसिलाबद्ध आंतककारी आक्रमणको विश्वभर निन्दा गरिएको छ ।
विश्वका थुप्रै नेताहरुले आफूहरु फ्रान्सको साथ रहेको बताएका छन् । आतंकवादी संगठन आईएस–आईएसले यो आक्रमणको जिम्मा लिएको छ । अन्तर्राष्ट्रिय जगतमा यो आक्रमणको निन्दा गरिएको छ र फ्रान्सलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत आएका छन् ।
आक्रमणको बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले निन्दा गरेका छन् । उनले भनेका छन्– ‘पेरिसमा आज भएको घटनाबाट म स्तब्ध छु । हामी बेलायतका नागरिक पूरै फ्रान्सका नागरिकको साथमा छौं । हामीले जे मद्दत गर्न सक्छौं, त्यो हामी गर्नेछौं ।’
घटनाको अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि निन्दा गरेका छन् । ओबामाले घटनालाई कायरतापूर्ण कारवाही भनेका छन् । ओबामाले भनेका छन्– ‘यो मानवतामाथिको हमला हो र अमेरिका जुनसुकै तरिकाबाट पनि फ्रान्सको साथमा छ ।’
घटनाको चीनका राष्ट्रपति सी जिनपिङ, जापानका प्रधानमन्त्री, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले निन्दा गरेका छन् ।