काठमाडौं- नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने आवश्यकता औँल्याएका छन् ।
‘अब कांग्रेस, एमाले, एमाओवादी र अरु दलसहितको राष्ट्रिय सहमतिकेा सरकार बनाउनु पर्छ । सबैलाई मिलाएर लिएर जानु पर्छ,’ आफ्नै निवासमा बिहीबार बिहान पत्रकारहरुसित कुरा गर्दै नेपालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली सबैलाई मिलाउन सिपालु हुनु हुन्छ । मिलाउनु होला ।’
बरिष्ठ नेता नेपालले सरकारको काम कारवाही प्रभावकारी भएन भन्ने गुनासो सबै तिरबाट आइरहेकोले सरकारलाई अझै प्रभावकारी बनाउनु पर्ने भन्दै अब आश्वासन मात्रै होइन परिणाममा आउने गरि ‘काम बढी, कुरा कम’ गर्नु पर्ने भनि प्रधानमन्त्रीको कार्यशैलिप्रति ब्यङग्य गरे ।
उनले कालाबजारी र मुल्यबृद्धि नियन्त्रणमा केही काम भएको भए पनि यो अपुग भएको भन्दै यसमा सरकार दह्रो ढंगले उभिनु पर्ने सुझाव दिए ।
मोर्चासँगको वार्ता सार्थक बनऔं
नेता नेपालले मधेसी मोर्चाले सुरु गरेको आन्दोलनले मुलुकको विकास र आर्थिक प्रगतिलाई असहर पारेको र मधेसी जनताले झनै पीडा भोग्नु परिरहेकोले जनताको हित विपरितको आन्दोलनको स्वरुप बदल्न मोर्चासँग आग्रह गर्दै संविधानमा केही कुरा अप्रष्ट भए त्यसलाई प्रष्ट बनाई राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्ने बताए ।
उनले भने, ‘आन्दोलन जनताको हितमा हुनु पर्नेमा जनताको हित विपरीत बनेको छ । यसले जनतालाई झनै पीडा थप्ने काम गरेको छ । आन्दोलनको स्वरुप बदलेर जनतालाई पीडामुक्त गर्न म मोर्चाको नेताहरुलाई आहृवान गर्दछु । मधेसी मोर्चा पनि एउटा दलमात्रै हो । एमाले, कांग्रेस र एमाओवादीले पनि मधेसको भावना बोक्छन् भन्ने कुरा भुल्नु हुँदैन ।’
नेपालले संविधान संशोधन विद्येयक पारित गर्न ढिलाइ भएको भन्दै काग्रेसको नेतृत्वमै सरकार रहँदा पारित गरेको भए अहिलेसम्म मुलुकले निकास पाइसक्ने दावी गरे ।
उहाँहरुलाई नबोलाउँदा चोट पर्छ
नेताले महन्थ ठाकुर र उपेन्द्र यादव जस्तो समझदार मान्छेहरु मोर्चामा रहेको उल्लेख गर्दै भने, ‘उहाँहरु वातावरण बनाइदिनुस् भन्नु हुन्छ । मृतकलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार गर्ने र सुरक्षाको प्रत्याभुतिमा राज्यले अलि बढी ध्यान दिनु पर्ने तर सरकारले कमजोरी गर्यो । हिजो आन्दोलनमा गिरिजाबाबु पनि राजाले एक पटक बोलाई दिए हुन्थ्यो भन्नु हुन्थ्यो । नबोलाउँदा भावनामा चोट पर्छ भन्ने कुरा भुल्नु हुँदैन ।’
झापा, मोरङ, सुनसरीका जनतालाई पनि सोधौँ
कम जनसंख्या भएको भुगोललाई ध्यान दिएर जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने विषयमा विधेयक नै पेश भइसकेको अवस्थामा त्यसलाई प्रष्ट पार्न तयार रहेको स्पष्ट पार्दै नेता नेपालले सीमांकनमा केही समय लिनु पर्नेमा जोड दिए ।
उनले भने, ‘सुनसरी, मोरङ, झापा, कैलाली र कञ्चनपुरका जनताको भावना बुझेर सीमांकन टुङ्गो लगाउनु पर्छ । त्यसको लागि केही समय लिनु पर्छ । तीन महिनामा राजनीतिक समिति बनाएर टुङ्ग्याए पनि हुन्छ, संघीयतालाई थाति राखे पनि हुन्छ ।’
नेपालले मधेसी मोर्चा, मधेसी जनता र भारतको समर्थनलाई फरक फरक ढंगले बुझ्नु पर्ने भन्दै भारत विराधी भावना घटानउ भारतले नाकाबन्दी हटाउन बहानाबाजी नगर्ने, मधेसी मोर्चाले कहि नहुने सीमामा धर्ना छाड्नु पर्छ । संसारमा आफ्ना जनतालाई मार्ने काम कसैले गर्दैनन् । संसदमा आउनु पर्यो त्यहाँबाट सहमति गर्नु पर्यो ।’






