के कुरा भयो मोदी र ओलीको टेलिफोन वार्तामा ?

oli modiकाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार विहान १०:३५ बजे टेलिफोन संवाद भएको छ । करिव २० मिनेट भएको वार्तामा दुवै प्रधानमन्त्रीले अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदानप्रदान गरे।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उनीहरुबीच कुराकानी भएको प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताए ।

प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन गरे । जवाफमा प्रधानमन्त्री मोदीले आफु सदैब आपूर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताए ।

भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताए । प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफुले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरे ।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय हितका बिषयमा समेत कुराकानी भयो । प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरे । छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताए ।