बलात्कारको सूचना दिने पत्रकार हत्या मामलामा राम रहिमलाई जन्मकैद, समर्थकलाई शान्त रहन अपिल

डेरा सच्चा सौदाका प्रमुख गुरमित राम रहिमलाई पंचकुलाको विशेष सिबिआई अदालतले पत्रकार रामचन्द्र छत्रपति हत्या मामलामा जन्मकैदको सजाय सुनाएको छ ।

पत्रकार रामचन्द्र छत्रपतिको हत्या सन् २००२ मा भएको थियो । अदालतले गुरमित राम रहिमलाई ११ जनवरीमा यो मामलामा दोषी ठहराएको थियो ।

डेरा प्रमुखसहित तीन अन्य व्यक्ति कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाललाई पनि दोषी ठहराइएको थियो । उनीहरुलाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

डेरा सच्चा सौदाका वरिष्ठ उपाध्यक्ष शोभा इन्साले समर्थकलाई शान्त रहन अपिल गरेकी छिन् ।

उनले ट्वीट गरेर यो मामलामा थप कानूनी प्रक्रिया चलाइने जानकारी दिएकी छिन् ।

जुन अदालतले राम रहिमलाई पत्रकारको हत्याको मामलामा सजाय सुनायो त्यही अदालतले सन् २०१७ को अगस्टमा उनलाई बलात्कारका दोषी ठहराएको थियो । पत्रकार रामचन्द्र छत्रपतिले नै सन् २००२ मा बलात्कारको पहिलो पटक जानकारी दिएका थिए ।

बलात्कारको सजाय सुनाएका न्यायाधिस जगदीप सिंहले नै राम रहिमलाई यो मामलामा पनि सजाय सुनाएका थिए ।

पत्रकार रामचन्द्र छत्रपति सन् २००२ मा गोली लागेका कारण गम्भीर रुपमा घाइते भएका थिए र पछि उनको उपचारको क्रममा मृत्यु भएको थियो । सन् २००३ मा यससम्बन्धि मुद्दा पनि दर्ता गरिएको थियो जुन सन् २००६ मा सिबिआईलाई सुम्पिएको थियो ।

बलात्कार मामलामा पहिले नै सजाय काटिरहेका छन्ः

राम रहिम सन् २०१७ अगस्टमा महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा सजाय सुनाइएको थियो तब हरियाणको सिरसा र पंचकुलामा हिंसा भड्किएको थियो ।

यो हिंसामा लगभग ४० जनाको मृत्यु भएको थियो । त्यसकारण आज पनि हरियाणा र पंजाबका विभिन्न क्षेत्रमा सुरक्षाको कडा व्यवस्था गरिएको थियो ।

५१ वर्षका राम रहिम अहिले बलात्कारको मामलामा रोहतकको सुनारिया जेलमा २० वर्षको जेल सजाय काटिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *