तमलोपाको अध्यक्षमा ठाकुर निर्विरोध

mahantha thakurनवलपरासी, ८ असार । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाबाट पार्टीको नेतृत्व गर्न अध्यक्ष पदमा पुनः महन्थ ठाकुर चयन हुनुभएको छ ।

यद्यपि, यसको औपचारिक घोषणा हुन बाँकी छ । निर्वाचन समितिका अनुसार आज भएको निर्वाचन प्रक्रियामा मनोनयन पत्र दर्ताको क्रममा अध्यक्ष पदमा ठाकुरको मात्र उम्मेदवारी दर्ता भएपछि आगामी नेतृत्व लिन ठाकुर एकल दावेदार हुनुभएको हो ।

पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा एक जना अपाङग तर्फको सदस्य, तीन जना दलिततर्फको सदस्य, चार जना मुस्लिमतर्फको सदस्य र पाँच जना आदिवासी जनजाति सदस्य निर्विरोध भएका छन् । पार्टीको अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध गर्न पार्टी नेतृत्व पक्ति छलफलमा व्यस्त छन् ।