काठमाडौँ- नौ महिनापछि गठन भएको व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले अब संसद्मा थाँती रहेका न्यायाधीशलगायतको सुनुवाइ प्रक्रिया प्रारम्भ भएको बताउनुभएको छ ।
समितिको आजको बैठकले नेपाली काँग्रेसका सांसद गुरुङलाई निर्विरोध निर्वाचित गरेको थियो । सरकारले सर्वोच्च अदालतका रिक्त न्यायाधीश, विभिन्न मुलुकका लागि राजदूत र निर्वाचन आयोगका आयुक्तको नियुक्तिको सिफारिस गरे पनि समिति गठन नहुँदा सुनुवाइ हुन सकेको थिएन । नेता गुरुङ यसअघि पनि उक्त समितिका सभापति हुनुहुन्थ्यो ।
सभामुख ओनसरी घर्तीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सभापति गुरुङले भन्नुभयो, “सरकारबाट आएका सिफारिस सभामुखकोमा होला, त्यो प्राप्त भएपछि सुनुवाइका लागि उजुरी दिने समयसहितको सूचना प्रकाशन गरिनेछ ।”
विगतमा ७५ सदस्यीय रहेको सो समितिमा गणपूरक सङ्ख्या पुर्याउनसमेत गाह्रो परेको अनुभव सुनाउँदै उहाँले वर्तमान १५ सदस्यीय समिति छरितो रहेको पनि प्रतिक्रिया दिनुभयो ।






