काठमाडौँ, ६ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्टरुपमा अनुमोदन गरेको बताउनुभएको छ ।
नेपाल देशभक्त गणतान्त्रिक मोर्चाले आज अध्यक्ष दाहालको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो– “वाम गठबन्धन जनअनुमोदित भएकाले अब जनताको पक्षमा नै काम गर्ने जिम्मेवारी आएको छ ।”
अध्यक्ष दाहालले निर्वाचनमार्फत जनताले दिएको जनमतप्रति पार्टी र नेता विनम्र हुनुपर्ने र जनतालाई नै केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिदैं “जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्” भन्नुभयो ।
“हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो, जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ र जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो– “नेकपा(एमाले) र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाँदा जनताले हृदयदेखि नै त्यसलाई स्वीकार गरेकाले कोहीकसैलाई पनि दायाँबायाँ गर्ने अधिकार छैन् ।”






