शव ल्याएपछि विमानस्थल शोकाकुल

afganकाठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।

आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट आज दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपाली कामदार पनि स्वेच्छाले नेपाल फर्केका छन् ।

शव ल्याएको विमान आइपुग्ने सूचनाअघि नै विमानस्थलमा मृतकका शोकाकुल परिवार र आफन्तजनको घुइँचो थियो । कतिपय मृतकका परिवार स–साना बच्चासहित विमानस्थल पुगेका थिए । शव राखेको १२ बाकस (कफिन) देखेसँगै परिवारजन मात्र होइन आफन्त र शुभेच्छुकका आँखा पनि आँसुले भरिएका देखिन्थे ।

मृतक १२ मध्ये चार जनाको काठमाडौँमा र बाँकीको सम्बन्धित जिल्लामा दाहसंस्कार गरिने बताइएको छ । सरकारले आक्रमणमा परी घाइते भएका पाँच जनालाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको र दुई जनाको उपचार काबुलमै भइरहेको जनाएको छ ।

अफगानिस्तानको सो घटनापछि काम छाडेर स्वइच्छाले उक्त विमानमा आज स्वदेश फर्केका २४ जना अन्य नेपाली सबैको चासोको केन्द्र बनेका थिए । सँगैका साथी गुमाएर त्रासको मानसिकतामा देखिएका उनीहरु विशेषगरी सञ्चारकर्मीको जिज्ञासा मेट्ने स्रोत बनेका थिए । अफगानिस्तानस्थित क्यानाडेली दूतावासमा सुरक्षाका लागि खटिएका १४७ जना नेपाली बेलायती कम्पनी साइबरमा कार्यरत थिए । अन्य कम्पनीको तुलनामा सो कम्पनीले सुरक्षा व्यवस्थामा कम ध्यान दिएको अफगानिस्तानबाट आज स्वदेश फर्केकामध्येका एक इटहरी निवासी वीरबहादुर खत्रीको भनाइ छ ।

शव आज स्वदेश ल्याएपछि त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दाेष नेपालीको हत्या कायरता र अमानवीय भन्नुभएको छ ।