काठमाडौं ८ फागुन । सुशील कोइराला नेतृत्वको सरकारले एक वर्षमा जनतालाई के दियो ? ४४ पेज लामो सरकारको एक वर्षे उपलब्धिको ‘संक्षिप्त विवरण’ पढ्दै शुक्रबार प्रवक्ता डा. मिनेन्द्र रिजालले भने- ‘पाँचथरमा अकबरे खुर्सानी उत्पादन शुरु भएको छ ।’
कोइराला नेतृत्वको सरकारले पूर्णता पाएको दिन फागुन ८ गतेलाई सरकारको एक वर्ष मानेर शुक्रबार सार्वजनिक गरिएको उपलब्धि तथा प्रमुख कामहरुमा संविधान बनाउन नसकिएको विषय शुरुमै उल्लेख छ ।
एक वर्षभित्र संविधान जारी गर्ने प्रमुख दायित्वसहित गठन भएको कांग्रेस एमाले संयुक्त सरकारको मुख्य काममै असफलता हात लाउँदै एक वर्षे कार्यकाल पूरा भएको छ ।
अकबरे खुर्सानीका लागि इलाम र पाँचथर परम्परागत रुपमै प्रख्यात हुन् । सरकारको एक वर्षे उपलब्धिमा पनि पाँचथरको अकबरे, भोजपुरको सुन्तला, तेह्रथुमको बाख्रापालन, बाँकेमा मुसुरो दाल प्रवर्द्धन क्षेत्र छनौट गरिएको उल्लेख छ ।
यो सरकारका पालामा निजी लगानीमा उत्साह थपिएको, बाह्य सहायता बढेको र उर्जा विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरिएको छ
सरकारको एक वर्षे उपलब्धिका रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र बेपत्ता छानविन आयोग गठनलाई प्रमुखरुपमा उल्लेख गरिएको छ ।
कोइराला नेतृत्वको सरकार बनेपछि मुलुकको आर्थिक वृद्धिदर धेरै वर्षपछि पाँच प्रतिशत नाघेको र मूल्यवृद्धिमा विगतको तुलनामा तीन प्रतिशत विन्दूले कमी आएको दाबी गरिएको छ ।
यो सरकारका पालामा निजी लगानीमा उत्साह थपिएको, बाह्य सहायता बढेको र उर्जा विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरिएको छ ।
त्यस्तै १८ औं सार्क शिखर सम्मेलनको सफलता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतलाई सरकारको सफलताका रुपमा ब्याख्या गरिएको छ ।
तराईका डोम, चमार पहाडका बादी जस्ता दलित समुदायका छात्रछात्रालाई एमबीबीएसको अध्ययनमा अनिवार्य छात्रवृत्तिको व्यवस्था गरिएको सरकारले जनाएको छ ।
सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही दिनअघि तराईमा दलितका छोराछोरीका पढाइमा राज्यले सबै लगानी गर्ने नीति ल्याउन लागेको बताएका थिए ।
राष्ट्रिय योजना आयोगको हर्क गुरुङ हलमा आयोजित कार्यक्रममा कांग्रेसबाट मन्त्री मिनेन्द्र रिजाल, एमालेबाट महेन्द्रबहादुर पाण्डे, राप्रपाबाट सुनिलबहादुर थापा र नेकपा मालेबाट निलम केसीको उपस्थितिमा सरकारका उपलब्धि सार्वजनिक गरिएको हो ।






