जनकपुर– चार महिनादेखि मधेसी मोर्चाद्वारा जारी मधेस आन्दोलनको कारण भइरहेको आमहडतालसँगै बन्द रहेको जनकपुरका निजी तथा सरकारी विद्यालय बिहीबारबाट खुलेका छन् ।
मोर्चाले विद्यालय सञ्चालन गर्न दिने भनेपछि मङ्सिर पहिलो साताबाट खुले पनि पुसको सुरुवातमै बन्द गराइएको थियो । शरत्सिंह भण्डारी नेतृत्वको रामसपा निकट समाजवादी विद्यार्थी सङ्घले बन्द अवधिको शुल्क विद्यार्थीसँग लिन नपाउने तथा दिउँसो आन्दोलन प्रभावित हुने गरी विद्यालय सञ्चालन नगर्न दबाब दिँदै हप्ता दिनदेखि पुन: विद्यालय बन्द गराएको थियो ।
बुधबार प्रगतिशील मधेसी समाजको अगुवाइमा आन्दोलनरत विद्यार्थी सङ्गठन तथा हिसान, प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले सम्झौता गरेपछि बिहीबारबाट विद्यालय खुल्न लागेका हुन् । बैठकले विद्यालय नखुलेको भदौ, असोज र कात्तिकमध्ये पछिल्लो दुई महिनाको शुल्क नलिने, भोलिदेखि बढ़ीमा ३ बजेसम्म मौसम अनुकूल कक्षा सञ्चालन गर्न पाउने र शिक्षकलाई विद्यालय बन्द अवधिको तलबसमेत शैक्षिक संस्थाले दिने निर्णय भएको समाजका अध्यक्ष डा सुरेन्द्र यादवले जानकारी दिनुभयो ।







