लण्डन । बेलायतस्थित एक समाजसेवी नेपाली परिवारले अल्डरसट स्थित कोभिड १९ भ्याक्सिन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निःशुल्क खाना खुवाएका छन् ।
वुवा हवल्दार दलु पुन ६ जिआरको सम्झना तथा उनकी छोरी नीरा पिजीको जन्मदिनको उपलक्ष्य पारेर स्वास्थ्यकर्मीहरुलाई खानाको व्यवस्था गरिएको हो ।
दलु पुन मुखिया परिवारको तर्फबाट आमा मँगली पुनको ईच्छा र चाहना अनुसार दलुको सम्झनामा अल्डरसट प्रिंसेस हलको कोभिड १९ भ्याक्सिन सेन्टरमा कार्यरत २५ जना जि,पी, डाक्टरहरू र नर्सहरू तथा २५ जना भोलन्टियरहरू गरी कुल ५० जनालाई लन्च स्वरूप नेपाली खाना मम:र पानी खुवाएर सहयोग गरेको छोरी नीरा पिजीले जानकारी दिइन् ।
‘बुबालाई बेलायत सरकार र एन एच एसबाट प्राप्त भएको सेवा र स्याहारको कहील्यै गुण तिर्न नसकिने र कहील्यै नबिर्सने आमाले सधै भनिरहनु हुन्छ’, उनले भनिन्, ‘सोही कुरालाई मूल्यांकन गरी स्वास्थ्यकर्मीहरुलाई खाना खुवायौँ, यसले मनमा पुण्यको काम गरेको महशुस र आनन्द भएको छ।’उनले यसको व्यवस्थापनमा साथ दिने शिव कल्चरल कम्युनिटी सेन्टरका महासचिव बिक्रम भट्टराई, ग्रेटर रसमोर नेपाली समाज यूकेका पूर्वअध्यक्ष जीव बेलबासे,गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष एलबीजेड गुरुङ फ़ूडको ब्यबस्था गरीदिने नाङलो मम: रेष्टुरेन्टका सञ्चालक उषा गुरुङ र अमृत गुरुङ तथा फ्रयाकिज क्याफेका सञ्चालक राजन गुरुङ लगायतलाई धन्यवाद दिइन् ।
बेलायतमा २ करोड भन्दा धेरैले कोभिड विरुद्धको खोप लगाइसकेको अवस्थामा महामारी नियन्त्रण गर्न दिनरात खटिएको स्वास्थ्यकर्मीको मनोबल पनि उच्च गराउने उद्धेश्यले सो सहयोग गरिएको पिजीको भनाई छ ।
हवल्दार पुनको २०१९ जुन १५ गते ९३ बर्षको उमेरमा निधन भएको थियो । हाल उनकी श्रीमती मँगली पुन, जेठा छोरा धनबीर पुन, जेठी बुहारी जुना पुन, माईलो छोरा बल बहादुर पुन, माईली बुहारी बिना पुन, साईला छोरा पुर्ण बहादुर पुन, साईली बुहारी धन रोका पुन, कान्छा छोरा गेम बहादुर पुन, कान्छी बुहारी हरी माया पुन, छारीहरू मन्सु पुन गौमाया पुन र निरा पिजी साथै नातीहरू र नातीनीहरू बेलायतमा बस्दै आएका छन् ।
नीरा पिजी लामो समयदेखि बेलायतको नेपाली समुदायमा पनि सामाजिक सेवा गर्दै आएकी छिन् । यहाँ हुने हरेक नेपाली कार्यक्रममा महत्वपूर्ण अभियन्ताको भूमिका पिजीले निर्वाह गर्दै आएकी छिन् ।






