सरकार र विप्लववीच ऐतिहासिक सम्झौताः यस्ता छन् तीन बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र विप्लव नेकपावीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

विहिबार दुई पक्ष वीच भएको वार्तामा तीन बुँदे समझदारी भएको थियो । उक्त सहमतिमा आज हस्ताक्षर भएको हो । उक्त सहमतिमा वार्ता टोलीका संयोजक र सदस्यहरुले हस्ताक्षर गरे ।

यस्तो छ सहमतिका तीन बुँदा:

१. दुवै पक्ष देशको राजनीति समस्याहरु वार्ता र सम्बादबाट समाधान गर्न सहमत भएका छौँ ।

२. नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।

३. सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउन, कार्यकर्ता रिहाई गर्न र मुद्धाहरु फिर्ता गर्न सहमत भएको छ।

‘सहमतिमा प्रतिबद्ध छौँ’

हस्ताक्षर पछि बोल्दै नेकपा महासचिव नेत्रविक्रम चन्दले आजको दिन नेपाली राजनीतिको निम्ती नयाँ र विशेष दिन भएको बताए ।

‘यो सहमति सरकार र नेकपावीच मात्र होइन, देशलाई आत्मनिर्भर, सुन्दर र स्वाधिन बनाउने सपना छ, यो देशमा जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा, समृद्ध जीवनको चाहना यस सहमतिमा छ ।’ उनले भने, ‘सहमतिप्रति प्रतिबद्ध छौँ ।’

यसमा सकारात्मक सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उनले सहीद र नेपाली जनताको सपना साकार नै गरेर छोड्ने प्रतिवद्धता व्यक्त गरे ।

‘आजसम्म धेरैका इच्छा पूरा भए, तर सहीदको सपना पूरा भएको छैन, नेपाली जनताको सपना पूरा भएको छैन दुख गरेर खाने नेपालीको चाहना पूरा भएको छैन ।’ उनले भने, ‘हाम्रो जीवन बलिदान गर्छौँ, सहिदको सपना मर्न दिँदैनौँ।’

‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्याे’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए ।

कार्यक्रममा बोल्दै उनले नेपाली जनताको चाहना शान्तिपूर्ण रुपमा बाँच्न पाउनु भएको भन्दै नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउँदै भने, ‘समृद्ध नेपाल बनाउनको निम्ती शान्तिपूर्ण बाताबरण चाहिन्छ, लोकतान्त्रिक प्रणाली चाहिन्छ । जनताले हक अधिकार प्राप्त गरेर सचेत र सुदृढ जनशक्ति, गतिशिल ढंगले अघि बढ्ने अवस्था चाहिन्छ’ । उनले यिनै चिज प्राप्ति गर्ने समयमा आज सहमति भएको र नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको दावी गरे ।

नेपालमा अब हिंसा नहुने स्पष्ट पार्दे उनले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि गरिरहेको छैन । नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ । आजको ठूलो उपलब्धि यही हो, अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । शान्ति छ ।’

यो सहमति रातारात नभएको भन्दै उनले बर्षौदेखि यसको निम्ती गृहकार्य भइरहेको बताए ।

‘अब वार्ता र सहमतिमै अघि बढ्छौँ,’ उनले भने, ‘कुनै पनि समस्या भयो भने छलफलबाटै टुंग्याउछौँ, कुस्ती खेल्नेछैनौँ ।’