भक्तपुर- प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान जारी भएलगत्तै जनतालाई यसको सही सूचना दिन नसक्दा देशमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभएको छ ।
न्यायमा पहुँच आयोग सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले भक्तपुरमा आयोजना गरेको ‘न्यायमा पहुँच अभिवृद्धिमा सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संविधानमा ३१ वटा हक लेखेको भए पनि संविधान जारी भएलगत्तै जनतालाई यसको जानकारी गराउन चुकेको भन्दै उहाँले सञ्चारमाध्यमले संविधानले सुनिश्चित गरेको हकलाई जनतासमक्ष पुर्याउनुपर्ने बताउनुभयो ।
न्यायालयसम्म आउनुपर्ने कैयौँ मुद्दा नआउने, पाँचदेखि १० प्रतिशत जनताको मात्र न्यायमा पहुँच रहेको चर्चा गर्दै उहाँले न्यायमा पहुँच वृद्धि गर्न न्यायाधीश, पत्रकार, वकिल संयुक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“अदालतलाई राजनीतिबाट मुक्त राख्छ, अदालतमा राजनीति गर्न दिन्न”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो – “न्यायाधीश नियुक्तिमा पनि राजनीतिकरण गर्नु हुँदैन, अदालतमा राजनीति गर्न खोज्ने प्रवृत्ति छ भने अब अन्त्य हुनुपर्छ ।”
देशभरका अदालतले १५ महिनाभित्र अधिकांश मुद्दा फैसला गर्न थालेको, १० वर्षअघि देशभर २० हजार मुद्दा रहेकामा अहिले त्यसलाई आठ हजार ५०० मा झारेको जानकारी उहाँले दिनुभयो ।






