राजधानीमै शून्य डिग्री, माइनसमा झर्न सक्ने

Forecast_kathamnduकाठमाडौं- बुधवार राजधानीको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार विहान ८:४५ को न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस रेकर्ड भएको हो । यो हिउँदकै सबैभन्दा कम तापक्रम हो ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले अझै न्यूनतम तापक्रममा गिरावट आउन सक्ने बताए । ‘अहिलेको मौसमी अवस्थामा परिवर्तन नआएसम्म न्यूनतम तापक्रम घटिनै रहने देखिन्छ’ श्रेष्ठले भने, ‘माईनसमा पनि झर्न सक्छ ।’ मंगलवार राजधानीको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो ।

मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार हिउँदमा राजधानीको तापक्रम माईनस २.६ सम्म झरेको रेकर्ड छ । राजधानीमा केहीबेर अघिको अधिकतम तापक्रम भने १५.५ डिग्री सेल्सियस रेकर्ड भएको महाशाखाले जनाएको छ ।