लन्डन- परराष्ट्रमन्त्री प्रकाशशरण महतले ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिसँग भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा उनले बेलायती सेनामा कार्यरत ब्रिटिस गोरखा सैनिकको सेवा सुविधा बेलायती नागरिकसरह हुनुपर्नेमा जोड दिए ।
महतले उक्त विषयमा बेलायत सरकारसँग आफूले कुरा गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायती सेनामा कार्यरत ब्रिटिस गोरखा नेपालीले पनि समानताको सिद्धान्तका आधारमा बेलायतीसरह नै सुविधा, पेन्सन, औषधोपचारलगायतको अधिकार पाउनुपर्ने विषयमा बेलायतसँगको द्विपक्षीय बैठकहरूमा उठाउने डा। महतले बताए ।
टोलीले ब्रिटिस गोरखा सैनिकले पाउनुपर्ने सुविधाका विषयमा बेलायत सरकारसँग तत्कालै पहल गरिदिन पनि मन्त्री महतसँग आग्रह गरेको थियो । बेलायती सेनामा कार्यरत ब्रिटिस गोरखा सैनिक र सेवा निवृत्तहरूले करिब २६ वर्षदेखि यो माग राखेर संघर्ष गर्दै आएका छन् । समस्या समाधान नभएमा आगामी नोभेम्बर ७ देखि आमरण अनशन गर्ने घोषणासमेत गरेको जानकारी टोलीले मन्त्रीलाई गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।






