एनपीसीसी युकेमा नेतृत्वको खाँचो

नेपाली काग्रेसको बेलायतस्थित भ्रातृ संगठन एन.पी.सी.सी युके अहिले दुई समूहमा विभाजित छ । एउटा समितिको नेतृत्व लोक गुरुङले गरेका छन् भने अर्को समितिको नेतृत्व चेतनाथ खनालले गरेका छन् । विवादित रुपमागरिएको तेश्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि चुनिएका सभापति लोक गुरुङ अहिले विस्तारै एक्लिदै गएका छन् । बेलायतका एक कांग्रेसी युवा नेता विश्वआदर्श पण्डित गुरुङको कार्यसमितिको सल्लाहकारबाट पहिले नै हटेको घोषणा गरिसकेका छन् । हालै गुरुङका कार्यसमिति महामन्त्री विश्व घिमिरेले लिखितरुपमा नै पदबाट राजीनामा दिएका छन् ।
लोक गुरुङको नेतृत्वमा रहेका तीन महामन्त्रीमध्येका एक विश्व घिमिरेले गुरुङ एनपीसीसी युकेलाई नेतृत्व दिन असहज भएको र एकताको लागि पनि कुनै पहल नगरेको आरोप आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् । समयमा तेश्रो अधिवेशन गराउन नसकेर विवादित बनेका लोक गुरुङ बेलायती कांगे्रसको आपसी झैझगडाका कारण फेरि सभापति हुने मौका पाएको कांग्रेसीहरु बताउँछन् ।उनी दोस्रो पटक सभापति बनेपछि बेलायतमा भएको कांगे्रसको संगठन एनपीसीसीको गतिविधि प्रायःशुन्य रहेको स्वयम उनकै समितिका पदाधिकारीहरु बताउँछन् । बेलायत कांग्रेसी सूत्रहरुका अनुसार अहिले गुरुङले बोलाएको बैठकमा कोरम नै नपुग्ने र जम्बो उनको कार्यसमितिको हालै सम्पन्न बैठकमा चार पाँचजना मात्र उपस्थित रहेको बताइन्छ । बेलायतमा कांग्रेसको झगडा केवल लोक गुरुङ र चेतनाथ खनालको कारणले मात्र विभाजित भएको होइन ।
यसमा आफूलाई शीर्ष नेताहरुको कित्तामा बाँड्ने केन्द्रमा पहुँच भएका कांग्रेसका कारण संस्था भत्किदै गएको जानकारहरु बताउँछन् । एमपीसीसी युकेलाई संस्थागत गर्नुभन्दा व्यक्तिगत प्रकृति हाबी भएको, त्यसलाई नेपालबाट आउने केन्द्रीय नेताहरुले पनि कुनै न कुनै रुपमा मलजल गर्ने गरेको बेलायतमा एकताको पक्षमा भएका कांग्रेसहरुको आरोप छ । हालै बेलायत भ्रमणमा आएका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाले कार्यसमितिलाई मिल्न सुझावदिएको बुझिएको छ ।
त्यसपश्चात् चेतनाथखनाल र लोक गुरुङ समूहबाट वार्ता समितिबने पनि यसले अहिलेसम्म मूतरुप लिन सकेको छैन । कांग्रेसको आगामी महाधिवेशनलाई मध्यनजर राखेर बेलायतमा एकताको पक्षमा भएका कार्यकर्ताको सरसल्लाहमा छिट्टै एक निर्णय लिन लागेको बुझिएको छ । हाल संगठनात्मक रुपले प्रायःनिस्कृय देखिएका दुवै समितिबाट नेतृत्वमा एनपीसीसी युकेको एकताको अधिवेशन सम्पन्न गर्न सम्भवन हुने भन्दै अन्य व्यक्तिको नेतृत्वमा केन्द्रले एक अधिवेशन तयारी समिति गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ । वास्तवमा अहिले एनपीसीसी युकेमा सबैलाई समेटेर एकताको अधिवेशन गराउन सक्ने व्यक्तिको अभाव सबैलाई खड्किएको बताइन्छ ।