अल्बानियाली मन्त्री निष्कासित

अल्बानियाली वातावरण मन्त्रालयकी सहायकमन्त्री डायना बेज्कोलाई प्रधानमन्त्री एडी रामाको आदेशबाट आज निष्कासन गरिएको अल्बानिया डेल्ली न्युजले जनाएको छ । सहायकमन्त्री बेज्कोले कयौँ महिनासम्म विद्युत् महसुलको बिल भुक्तानी नगरेकाले मन्त्री पदबाटै निष्कासन गरेको बताइएको छ ।
उत्तरपश्चिम अल्बानियाको भेलिपोजा समुन्द्रकिनारमा रहेको उहाँको दोस्रो घरमा खपत भएको विद्युत् आपूर्ति महसुलका बिल महिनौँसम्म भुक्तान नगरिएको तथ्य विद्युत् वितरण निकाय (ओएसएचइई)ले पत्ता लगाएको थियो । यद्यपि उक्त विद्युत् महसुलको रकम धेरै ठूलो नभए तापनि सरकार प्रमुखलाई कारबाही गर्नबाट रोक्न सकेन ।
प्रधानमन्त्री रामाले सामाजिक सञ्जालमा जारी गर्नुभएको एक सन्देशमा सार्वजनिक उच्चपदमा रहेका व्यक्तिले विद्युत् महसुल भुक्तानी नगरेको सम्बन्धमा कुनै न्यायिक कारण नभेटिएको बताइएको छ । अल्बानियाको उत्तरपश्चिम सहर स्कोड्रामा समाजवादी पार्टीका तर्फबाट विजयी हासिल गर्नुभएको सांसद बेज्कोलाई सहायक मन्त्री बनाइएको थियो ।
बेज्कोले भने विद्युत् महसुलमा भुक्तानी नगरेका कारण नभई अन्य कारणबाट आफूलाई पदमुक्त गरेको जनाउनुभएको छ । यस्तै अल्बानियाले अन्य सरकारी कर्मचारीहरु कसैले विद्युत् महसुल तिर्न बक्यौता राखेका छन् भन्ने विषयमा मन्त्री परिषद्ले एक कार्यदलसमेत गठन गरेको छ ।