आन्दोलनमा नलागेको भन्दै चुरे भावरद्वारा तीन पदाधिकारी निष्कासन

राष्ट्रिय सम्मेलन पुस २५ गते सर्लाहीमा गर्ने

badri neupaneकाठमाडौं– अलग्गै भावर प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो संघर्षलाई थप सशक्त बनाउन राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको हाइकमान्डको बैठकपछि अध्यक्ष बद्रिप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार सर्लाहीको हरिवनमा पुसको २५ र २६ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिने छ । भेलाका लागि सर्लाही जिल्ला कार्यसमिति र केन्द्रीय पदाधिकारीलाई जिम्मेवारी तोकिएको छ ।

सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न र चुरे भावर क्षेत्र समेटेर चुरे भावर प्रदेश कायम गराउनका लागि दबाव दिन बिगत एक महिनाभन्दा बढी समयदेखि चुरे भावर क्षेत्रमा सो पार्टीले आन्दोलन गर्दै आएको छ ।

आन्दोलनलाई बेवास्ता गरेर हिँडेको भन्दै चुरे भावर पार्टीले आफ्ना केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । ‘पार्टी निर्णय र निर्देशन विपरित आन्दोलनमा सहभागी नभइ गैरजिम्मेवार रुपमा अभिव्यक्ति दिँदै आएका केही केन्द्रीय पदाधिकारीहरू पार्टीको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कारबाहीमा पर्नेहरूमा उपाध्यक्ष कमलप्रसाद चुँडाल, महासचिव कुमारप्रसाद भण्डारी र कोषाध्यक्ष यूवराज चापागाईं रहेका छन् । केही केन्द्रीय सदस्यलाई पनि कारबाही गरेको न्यौपानेले बताए । बैठकले अहिलेलाई कोषाध्यक्षमा राजाराम बोगटी, उपाध्यक्ष कृष्णबहादुर राई र महासचिवमा सुशील चापागाईंलाई कार्यबाहकको जिम्मेवारी तोकिएको छ ।

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको घटनाको निन्दा एवम् भर्त्सना गरेको छ । अध्यक्ष न्यौपानले सो घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा छिटो ल्याउन माग गरेका छन् ।