चिसोले सिन्धुपाल्चोकमामात्रै ७ जना भूकम्प पीडितको मृत्यु

earthquakeकाठमाडौं– अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकमामात्रै ७ जना भूकम्पपीडितको मृत्यु भएको छ । जिल्लाको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको हो ।

ठोकर्पा–३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको हो ।

तीन सातायता ठोकर्पा– ३ पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन् । स्थानीयले उनीहरू सबैको मृत्यु चिसोकै कारण भएको बताए ।

टहरा र छाप्रामा बस्दै आएका सयौं वृद्धवृद्धा र केटाकेटी श्वासप्रश्वाससम्बन्धी रोगले थलिन थालेका छन् । ०६८ को जनगणनाअनुसार ६६ हजार घर रहेको जिल्लामा भूकम्पले ९० प्रतिशत घर भत्काएको थियो । भूकम्पका कारणले ३ हजार ५ सय ६६ जनाको मृत्यु भएको थियो ।