लन्डन । लन्डनस्थित अन्डरग्राउण्ड रेल वे स्टेशनमा शनिवार सांझ चक्कु प्रहारबाट तीनजना घाइते भएका छन् । मेटोपोलिटन पुलिसले लेटनस्टोन स्टेशनमा भएको आक्रमणलाई आतंकवादी भनेको छ । ब्रिटिश टान्सपोर्ट पुलिसले शुरुमा अनुसन्धान थाले पनि पछि प्रति आतंकवाद युनिटलाई घट्नाको अनुसन्धानको जिम्मा लगाएको छ । सांझ सवा ७ बजे भएको आक्रमणका बेला शंकास्पद आक्रमणकारीले यो सिरियाका लागि हो भन्दै चिच्याएको थियो ।
घाइते मध्ये घांटीमा चक्कु प्रहार गरिएका एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ताले एकजना गम्भीर घाइते भएपनि जीवन मरणको स्थितिसम्म भने नपगेको जनाए ।
आक्रमणपछि रेल वे स्टेशनमा त्रासदीको वातावरण सृजना भएको सामाजिक सञ्जालमा राखिएको भिडियोमा देख्न सकिन्थ्यो । स्टेशनमा रगत लतपतिएको देखिन्थ्यो । प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गरेको छ ।







