काठमाडौँ- भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले कच्चापदार्थको अभाव भएपछि नारायणहिटी परिररमा बन्दै गरेको गणतन्त्र स्मारक निर्माणको काम रोकिएको छ ।
विसं २०६५ जेठ १५ मा नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले विसं २०६९ मङ्सिर २२ गते निजी कम्पनी बिकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरेर तीन वर्षमा सक्ने गरी काम अगाडि बढाएको थियो । पैँतीस रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो स्थलमा नेपाली सेना बस्दै आएकाले निर्माण चैतको दोस्रो हप्तादेखि मात्र सुरु भएको थियो । रु चौँतिस करोड लगानीमा स्थापना गर्न लागिएको सो स्मारकको ८० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको कम्पनीले भूकम्प र नाकाबन्दीले काम ढिला भएको कम्पनीका कार्यकारी निर्दैशक रोशन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काम तीव्र गतिमा अगाडि बढेको थियो तर वैशाखमा आएको विनाशकारी भूकम्प र तीन महिनादेखि भइरहेको मधेस आन्दोलनले काम अगाडि बढाउन सकेनौँ ।”
उहाँले सहज वातावरण भए निर्धारित समयमा नै काम गर्ने र आगामी जेठ १५ गते गणतन्त्र दिवसमा सो स्मारक सहितको उद्यान उद्घाटन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । “सुरुका दिनमा एक सय ५० भन्दा बढी कामदार लगाएर काम गरेका थियौँ, अहिले कच्चापदार्थको अभावले कामदारलाई काम दिन सकेका छैनौँ”– श्रेष्ठले भन्नुभयो । -रासस






